Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

युलेन्स स्कुलमा स्वार्थको द्वन्द्व ? एकै व्यक्ति दुई विद्यालयको अध्यक्ष

युलेन्स स्कुलमा स्वार्थको द्वन्द्व ? एकै व्यक्ति दुई विद्यालयको अध्यक्ष

काठमाडौँ : सामान्यतः एक व्यक्ति आफ्ना छोराछोरी वा नातिनातिना पढेको विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बन्न सक्छन् । सामुदायिक विद्यालयहरूको प्रयोगमा अभिभावक नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने नीति छ ।केही निजी विद्यालय वा ट्रस्टबाट सञ्चालित विद्यालयहरूमा पनि केही अधिकारसहित अभिभावकबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाइने गरिएको छ । तर एकै व्यक्ति एकभन्दा बढी विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न पाउने वा नपाउने भन्ने कानुनी व्यवस्था भने शिक्षा ऐनमा उल्लेख छैन ।तर स्थानीय तहहरुले बनाएको शिक्षा ऐनहरूमा भने अन्य विद्यालयको विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष वा सदस्य रहेका व्यक्ति अध्यक्ष वा सदस्य बन्न नपाउने व्यवस्था गरिएको छ ।

तर मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा स्थापित भएको र सुरुवाती समयमा बेल्जियन नागरिकहरू बरोन गुय युलेन्स र मारियम युलेन्सको अनुदानबाट स्थापना भएको युलेन्स स्कुलमा भने एकै व्यक्ति दुई वटा विद्यालयमा अध्यक्ष छन् ।र, दुई वटै विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष बनेका भाग्यमानी व्यक्ति हुन्, डा. मनिष थापा ।ग्लोबल ईक्वीटी फन्ड, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, नेपाल इन्फास्ट्रक्चर बैंक लगायतमा बोर्डमा रहेका उनै मनिष थापा यति बेला युलेन्स एजुकेसन फाउन्डेसन र युलेन्स काठमाडौँ स्कुलको समेत विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष छन् ।

नाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएर सञ्चालनमा रहेको युलेन्स स्कुलमा यसअघि हाल त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. भोला थापा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए । सरकारले उनलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गरिसकेपछि पनि उनले राजीनामा दिएका थिएनन् । तर ललितपुर महानगरपालिकाको शिक्षा शाखाले उपकुलपतिकै नाममा पत्र काट्ने तयारी गरेपछि थापाले हतारहतार असार ३१ गतेको ब्याक डेट बनाएर राजीनामा पत्र बुझाएका थिए ।त्यसपछि डा. मनिष थापालाई विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनाइएको थियो । उनै थापालाई यति बेला ललितपुरको खुमलटारमा रहेको युलेन्स एजुकेसन फाउन्डेसनबाट सञ्चालित युलेन्स स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मात्रै होइन, युलेन्स काठमाडौँ स्कुलमा समेत विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिइएको छ । स्थानीय तहले बनाउने शिक्षा ऐन विपरीत थापा दुई वटै विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष छन् ।

खुमलटारको युलेन्स स्कुल नाफा वितरण नगर्ने विद्यालय भए पनि काठमाडौँको युलेन्स स्कुल भने प्रालिमा दर्ता भएर नाफा कमाउने विद्यालयकै रूपमा सञ्चालनमा छन् । उक्त विद्यालयको सम्पूर्ण खर्च, आम्दानी, सञ्चालन, भाडामा लिने वा दिने, तलब भत्ता आदिको प्रत्यक्ष निगरानी युलेन्स एजुकेसन फाउन्डेसनले नै गर्ने भए पनि जग्गा खरिद वा भाडामा लिने, तलब भत्ता भुक्तानी गर्ने लगायतका काममा प्रत्यक्ष संलग्नता हुन पाउने र आर्थिक गतिविधिमा प्रत्यक्ष संलग्न हुन पाउने भएपछि थापा ललितपुर र काठमाडौँ दुवै स्कुलको व्यवस्थापन समितिमा अध्यक्ष रहेका छन् ।

अझ शिक्षा नियमावली, २०८३ ले अन्य संस्थागत विद्यालय वा अन्य शैक्षिक संस्थामा लगानी रहेको व्यक्ति विद्यालय व्यवस्थापन समितिमा बस्न अयोग्य हुने उल्लेख भए पनि थापा भने दुई वटा विद्यालयमै अध्यक्ष रहेका छन् । थापा पुरानो बानेश्वरमा सञ्चालनमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टका लगानीकर्तासमेत हुन् ।

विद्यालयमा थापाको ‘कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट’
डा. मनिष थापा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष बन्नुभन्दा अगाडि नै युलेन्स स्कुलको व्यवस्थापनमा संलग्न थिए । युलेन्स स्कुलमा आगजनी भएपछि विद्यालय सञ्चालन नै नगर्ने र विद्यालयको नाममा भएको सम्पत्ति विक्री गरी काठमाडौँको विद्यालय मात्रै चलाउने थापाको तयारी थियो ।युलेन्स स्कुल लामो समय सञ्चालनमा नआएपछि अभिभावकहरूको भेलामा थापाले तत्काल विद्यालय चलाउन नहुने धारणा राखेका थिए । तर अन्य अभिभावकले थापाको प्रस्तावको विरोध गरेका थिए । त्यसपछि थापा चुप लागेका थिए ।विद्यालय चलाउने निर्णय भएपछि विद्यालयले ४० थान इलेक्ट्रिक भ्यान खरिद गर्ने निर्णय गरेको थियो र त्यसका लागि टेन्डर आव्हान समेत गरेको थियो । तर नाफा वितरण नगर्ने संस्था युलेन्स फाउन्डेसनले बढी मूल्यमा दि गो कम्पनीले आयात गरेको इलेक्ट्रिक भ्यान खरिद गरेको पाइएको छ ।

एनईभी नेपालको नामबाट सञ्चालित दि गो ब्रान्डमा सञ्चालनमा आएको कम्पनीले सिएचटिसी ब्रान्डको १६ सिट क्षमताको स्कुल भ्यान युलेन्सलाई विक्री गरेको थियो, जुन भ्यानको नेपालमा परीक्षण नै भएको छैन । नेपालमा व्यापारिक प्रयोजनका लागि परीक्षण नै नगरिएको भ्यान दि गो कम्पनीले युलेन्स स्कुललाई विक्री गरेको हो, जुन भ्यान अन्य विद्यालय वा कम्पनीलाई विक्री नै गरेको छैन ।दिगो कम्पनीको वेभ साइटमा समेत १६ सिट क्षमताको सिएचटिसी भ्यानको मूल्य, क्षमता आदिबारे कुनै जानकारी नै दिइएको छैन ।

अचम्म त के छ भने दि गो कम्पनीको सल्लाहकार मा उनै डा. मनिष थापा संलग्न छन्, जो भ्यान खरिद गरिएको युलेन्स स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका छन् । गाडी खरिद गर्ने क्रममा समितिमा समेत रहेका उनै मनिष थापाको जोड बलमा अन्य कम्पनीको गाडीलाई अस्वीकार गरी दि गो कम्पनीको सिएचटिसी ब्रान्डका स्कुल भ्यान खरिद गरिएको थियो ।दिगो कम्पनीका अध्यक्ष राजन रायमाझी रहेका छन्, जो युलेन्स फाउन्डेसनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. मनिष थापाका व्यापारिक साझेदार समेत हुन् ।युलेन्स स्कुलकै एक कर्मचारीका अनुसार यसरी दि गो कम्पनीको स्कुल भ्यान खरिद गर्ने क्रममा एउटै भ्यानमा कम्तीमा ८ लाख रुपैयाँको कमिसन खाइएको छ ।

के भन्छन् थापा ?
दियोपोस्टसँग संक्षिप्त कुराकानी गर्ने क्रममा थापाले आफू युलेन्स स्कुल ललितपुरको व्यवस्थापन समितिको अध्यक्ष रहेको र विद्यालयले काठमाडौँको विद्यालयको समेत अध्यक्षता गरिदिन आग्रह गरेको कारण आफूले जिम्मेवारी सम्हालेको बताए ।ग्लोबल कलेज अफ म्यानेजमेन्टमा आफू पहिले सेयर होल्डर रहेको भए पनि अहिले त्यहाँ आफ्नो कुनै सेयर नरहेको थापाले दाबी गरेका छन् ।त्यसै गरी दि गो कम्पनीमा आफ्नो कुनै संलग्नता नरहेको र आफू पहिले मात्रै सल्लाहकार भएको दाबी गरेका छन् । तर दि गो को वेभ पेजमा भने उनी केही समय अगाडिसम्म बोर्ड अफ एडभाइजर रहेको देखिएको थियो ।विद्यालयलाई आवश्यक ४० वटा भ्यान खरिद गर्दा टेन्डर गरेर नै खरिद गरेको र सस्तो मूल्यकै भ्यान खरिद गरिएको थापाले दाबी गरे । तर दि गो ले नेपाल ल्याएको उक्त भ्यानको खरिद मूल्य, विक्री मूल्य आदि कहीँ कतै नै उल्लेख गरिएको छैन र विद्यालयले उक्त भ्यान कति मूल्यमा खरिद गरिएको हो समेत कहीँ उल्लेख गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट