Logo

Nov 20 2026 | २०८३, मंसिर ५गते

बंगलादेशमा हिंसा : सत्तारुढ दलका दुई नेताको मृत्यु, हसिनाको पार्टीमाथि षड्यन्त्रको आरोप

बंगलादेशमा हिंसा : सत्तारुढ दलका दुई नेताको मृत्यु, हसिनाको पार्टीमाथि षड्यन्त्रको आरोप

ढाका : बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले देशलाई अस्थिर बनाउन षड्यन्त्र रचिरहेको आरोप लगाएका छन्। भारतसँग सीमा जोडिएको उत्तर–पश्चिमी जिल्ला लालमोनिरहाटमा बिहीबार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अवामी लिगका समर्थकहरूले अशान्ति फैलाउन आगजनी र हत्याको बाटो रोजेको बताए। प्रतिबन्धित अवामी लिगले आह्वान गरेको एकदिने देशव्यापी आमहड्तालका क्रममा विभिन्न क्षेत्रमा हिंसा भड्किएपछि प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो।स्थानीय सञ्चारमाध्यमहरूका अनुसार हड्तालका क्रममा प्रतिबन्धित अवामी लिग र सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताहरूबिच भएको झडपमा कम्तीमा चार जनाको ज्यान गएको छ। हिंसाका क्रममा पूर्व मुख्य अन्तरिम सल्लाहकार मोहम्मद युनुसको चट्टग्रामस्थित पैतृक घरमा समेत प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। 

यसअघि बुधबार नडाइलमा विरोध प्रदर्शनबाट फर्कँदै गरेका बीएनपीका दुई नेताको हत्या भएको थियो। उक्त आक्रमणमा प्रतिबन्धित अवामी लिगका कार्यकर्ता संलग्न रहेको प्रहरीको दाबी छ। न्यु एज पत्रिकाका अनुसार बिहीबारसम्म देशका १८ जिल्लामा हिंसा फैलिएको छ। मंगलबार रातिदेखि नै विभिन्न स्थानमा भएका तोडफोड, आगजनी र घरेलु बम विस्फोटका घटनामा सार्वजनिक बस, प्रहरी कार्यालय, बीएनपी कार्यकर्ताका घर, पार्टी कार्यालय तथा ग्रामीण बैंकका शाखाहरू निशानामा परेका छन्। बुधबार गोपालगञ्जमा व्यापक हिंसा मच्चिँदा राजमार्गमा गाडीहरू जलाइएका थिए भने रुख ढालेर आवागमन अवरुद्ध पारिएको थियो। 

गोपालगञ्जकै काशियानीमा प्रदर्शनकारीहरूले ‘जोय बाङ्ला’ को नारा लगाउँदै बीएनपी कार्यालय र ग्रामीण बैंकमा तोडफोड गरे। त्यहाँ रहेको प्रहरी चौकीमाथि आक्रमण भएपछि सुरक्षाकर्मीहरू कार्यालय छाडेर हिँडेका थिए। सोही क्षेत्रमा बीएनपी सांसद डा. केएम बाबरको स्वामित्वमा रहेको अस्पताल, सांसदको निजी निवास र उनका आफन्तका घरहरूमा समेत आगजनी गरिएको छ।राजधानी ढाकामा बिहीबार बिहानै विभिन्न स्थानमा बम विस्फोट गराइएको थियो भने पल्लबी क्षेत्रमा एउटा यात्रुवाहक बसमा आगजनी गरियो। नारायणगञ्ज, मयमनसिंह र राजशाहीमा पाँचवटा बस र एउटा ट्रक जलाइएका छन्। ढाकामा भएका हिंसात्मक गतिविधिमा परी कम्तीमा चार जना घाइते भएका छन्। अशान्ति बढेपछि ढाका उच्च अदालतले आगामी डिसेम्बर ३१ सम्मका लागि देशभरका सम्पूर्ण सार्वजनिक विश्वविद्यालयहरूको प्रवेश परीक्षा स्थगित गर्न आदेश दिएको छ।

सरकारी समाचार संस्था बीएसएसका अनुसार प्रधानमन्त्री रहमानले जनसभालाई सम्बोधन गर्दै भने, ‘देशका जनता जबर्जस्ती बेपत्ता, हत्या, आगजनी, आतंकवाद र मतदानको अधिकार खोस्ने राजनीतिमा फर्कन चाहँदैनन्। हामी एकजुट भएर यस्ता आतंकवादीहरूलाई कडा जवाफ दिनुपर्छ।’ भारततर्फ संकेत गर्दै उनले अवामी लिग सरकारले देशको हितभन्दा सीमापार रहेका आफ्ना आकाहरूको स्वार्थ पूरा गरेको र सत्ताच्युत भएपछि त्यतै शरण लिएको टिप्पणी गरे। देशबाट भागेपछि पनि अवामी लिगले पछाडिबाट आक्रमण र आगजनीको राजनीति दोहोर्‍याएको दाबी गर्दै उनले यस्ता गतिविधिलाई अब नसहिने चेतावनी दिए।७९ वर्षीया शेख हसिना सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलनको बलमा सत्ता ढलेपछि भारतमा शरण लिँदै आएकी छन्। उनले आगामी डिसेम्बरमा स्वदेश फर्कन राहदानी माग गरे पनि सरकारले त्यसलाई अस्वीकार गरिदिएपछि अवामी लिगले हड्तालको घोषणा गरेको थियो। 

विशेष न्यायाधिकरणले प्रदर्शनकारीमाथि दमन गरेको अभियोगमा हसिनाविरुद्ध सुनाएको मृत्युदण्डको फैसलाको वार्षिकीका दिन यो बन्द आह्वान गरिएको थियो। यद्यपि हसिनाले आफूमाथिका आरोप अस्वीकार गर्दै स्वेच्छाले फर्किएर कानुनी प्रक्रिया सामना गर्ने बताए पनि बंगलादेश सरकारले द्विपक्षीय सन्धिअन्तर्गत उनको औपचारिक सुपुर्दगी माग गरिरहेको छ।अवस्था नियन्त्रणमा लिन सरकारले सातवटा संवेदनशील जिल्लामा करिब ३ हजार अर्धसैनिक बल परिचालन गरेको छ। अशान्ति र तोडफोडमा संलग्न रहेको आरोपमा पूर्व शिक्षामन्त्री नुरुल इस्लाम नाहिदसहित अवामी लिग र यसका भ्रातृ संगठनका कम्तीमा ७१ जनालाई ढाकाबाट नियन्त्रणमा लिइएको छ। यसैगरी ढाकाको बैतुल मुकर्रम मस्जिदका पूर्व खतिब मुफ्ती रुहुल अमिनलाई समेत बसुन्धरा आवासीय क्षेत्रबाट पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट