चितवन : पवित्र हरिबोधनी एकादशी तथा तुलसी विवाहको अवसरमा चितवनस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ । एकादशीको दिन भगवान् विष्णुको विशेष पूजा–आराधना गर्ने धार्मिक मान्यताअनुसार बिहानैदेखि देवघाटधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो ।हरिबोधनी एकादशीलाई भगवान् विष्णु चार महिनाको योगनिद्राबाट जाग्ने दिनका रूपमा लिइन्छ । यसै दिन तुलसी विवाह गर्ने धार्मिक परम्परा रहेकाले पनि देवघाटधाममा विशेष धार्मिक रौनक देखिएको छ ।
एकादशीको अवसरमा विभिन्न स्थानबाट आएका भक्तजनले देवघाटधामस्थित मठमन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गरेका छन् । त्रिशूली र कालीगण्डकी नदीको संगमस्थल वेणीमा स्नान तथा पूजाआजा गर्ने श्रद्धालुको समेत चहलपहल देखिएको छ ।भक्तजनहरू परिवार तथा आफन्तसँगै देवघाटधाम पुगेर भगवान् श्रीहरिको दर्शन गर्नुका साथै धार्मिक गतिविधिमा सहभागी भएका छन् । दर्शन, पूजाआजा र तीर्थयात्रासँगै भक्तजनले एकादशीको दिनलाई उल्लासमय रूपमा मनाएका छन् ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको हरिबोधनी एकादशीले देवघाटधामको धार्मिक पहिचानलाई थप जीवन्त बनाउनुका साथै यस क्षेत्रमा धार्मिक चहलपहल बढाएको छ ।यस अवसरमा श्रद्धालुहरूले भगवान् श्रीहरिको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् भन्ने कामना गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij