चितवन : पूर्वी चितवनको रत्ननगर नगरपालिकाका मुख्य बजार क्षेत्रमा लामो समयदेखि फोहोर नउठ्दा दुर्गन्ध फैलिएको छ। तिहारको भाइटीकाअघिदेखि थुप्रिन थालेको फोहोर चाडपर्व सकिएर जनजीवन सामान्य भइसक्दा पनि व्यवस्थापन हुन नसक्दा बजार क्षेत्र दुर्गन्धित बनेको हो।
नगरपालिकाका प्रमुख व्यापारिक केन्द्र टाँडी, बकुलहर र सौराहा चोकलगायतका क्षेत्रका भित्री तथा बाहिरी सडक किनारमा फोहोरका डंगुर थुप्रिएका छन्। लामो समयसम्म फोहोर नउठ्दा सडेगलेका वस्तुबाट निस्किएको दुर्गन्धले पैदलयात्री, स्थानीय बासिन्दा तथा व्यवसायीलाई सास्ती भएको छ। दुर्गन्धका कारण पसलमा बसेर व्यवसाय सञ्चालन गर्नसमेत कठिन भएको स्थानीयको गुनासो छ।
रत्ननगर नगरपालिकाको फोहोर संकलन तथा व्यवस्थापनको जिम्मा पाएको 'सफा ऊर्जा' ले विगतमा नियमित रूपमा फोहोर उठाउँदै आएको थियो। तर, तिहारको समयदेखि फोहोर संकलन कार्य रोकिएपछि बजार क्षेत्रमा फोहोर थुप्रिएको स्थानीय व्यापारीहरूले बताएका छन्।
'तिहारको टीकाअघिदेखि नै फोहोर उठाउने गाडी आएको छैन। चाडपर्वका बेला निस्किएको फोहोर सडकमै सडेर बसिसक्यो,' एक स्थानीय व्यवसायीले भने, 'दुर्गन्धले पसलमा बस्नै नसक्ने अवस्था भइसक्यो, तर सम्बन्धित निकायको ध्यान जान सकेको छैन।'
बजार क्षेत्रमा लामो समयदेखि फोहोर थुप्रिँदा वातावरण प्रदूषित हुनुका साथै संक्रामक रोग फैलिने जोखिमसमेत बढेको स्थानीयको चिन्ता छ। उनीहरूले तत्काल फोहोर संकलन तथा व्यवस्थापनको काम सुरु गरी बजार क्षेत्र सफा राख्न ठेकेदार कम्पनी 'सफा ऊर्जा' र रत्ननगर नगरपालिकासँग माग गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij