वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले छठ पर्वलाई भव्य, सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै आगलागी तथा मानवीय र भौतिक क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
उनले पर्वका क्रममा पटका, आतिसबाजीलगायत प्रज्वलनशील तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न अनुरोध गरेका छन् । त्यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।
छठघाट तथा पोखरीमा पूजा र अर्घ्य दिने क्रममा बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारण डुब्न सक्ने जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन पनि प्रशासनले आग्रह गरेको छ । सम्भावित विपद् तथा दुर्घटनामा तत्काल उद्धार गर्न आवश्यक उपकरणसहित सुरक्षाकर्मी तयारी अवस्थामा रहने जनाइएको छ ।
त्यस्तै, छठ पर्वको धार्मिक मर्यादा र पवित्रता कायम राख्न आज र भोलि (कात्तिक २९ गते) छठ पूजास्थल तथा घाट वरपर माछा, मासुलगायत खाद्यवस्तु र सबै प्रकारका मादक पदार्थको बिक्री वितरण तथा सेवन पूर्ण रूपमा बन्द गर्न प्रशासनले सूचित गरेको छ ।
पर्व अवधिभर शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासन, सुरक्षा निकाय र छठ पूजा व्यवस्थापन समितिसँग समन्वय गर्न पनि प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij