Logo

Nov 15 2026 | २०८३, कार्तिक ३०गते

दुलहीझैँ सिँगारियो वीरगन्जको घडीअर्वा पोखरी, छठको तयारी पूरा

दुलहीझैँ सिँगारियो वीरगन्जको घडीअर्वा पोखरी, छठको तयारी पूरा

वीरगन्ज  : छठ पर्वको अवसरमा वीरगन्जस्थित प्रसिद्ध घडीअर्वा पोखरीलाई आकर्षक ढङ्गले सजाइएको छ । छठ पूजाका लागि पोखरी परिसरको सजावट तथा व्यवस्थापनको काम पूरा भएको छ ।

छठ पूजा व्यवस्थापन समितिले पोखरी सजावटका लागि भारतको कोलकाताबाट पण्डाल, फूललगायत सामग्री ल्याएको जनाएको छ ।

समितिका अध्यक्ष राकेश कुमार साहले छठ पूजाका लागि सम्पूर्ण तयारी पूरा भएको बताए । उनका अनुसार झिलिमिली बत्ती र विभिन्न सजावटले पोखरी परिसर दुलहीझैँ सिँगारिएको छ ।

‘हाम्रो सम्पूर्ण तयारी भइसकेको छ । झिलिमिली सिँगारिएको छठघाट राति अवलोकन गर्दा दुलहीलाई सिँगारिएको जस्तै लाग्छ,’ साहले भने ।

उनका अनुसार घडीअर्वा पोखरीमा छठका अवसरमा हरेक वर्ष बिहान र बेलुका गरी डेढदेखि दुई लाखसम्म श्रद्धालु तथा अवलोकनकर्ता आउने गरेका छन् । सजाइएको पोखरीको सुन्दरता हेर्न बारा, पर्सा र रौतहटसँगै काठमाडौंलगायत विभिन्न ठाउँबाट आन्तरिक पर्यटकसमेत वीरगन्ज पुग्ने गरेका छन् ।

समितिले पत्रकार सम्मेलन गरी यस वर्ष छठघाटको सजावट र व्यवस्थापनमा २७ लाख रुपैयाँ खर्च हुने जनाएको छ ।

व्रतालु तथा श्रद्धालुको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी १०० जना सुरक्षाकर्मी परिचालन गरिनेछ । त्यस्तै, घडीअर्वा स्पोर्ट्स क्लबका ५५ जना स्वयंसेवक पनि खटिनेछन् ।

पोखरी परिसरभित्र २१ र बाहिर १६ गरी ३७ वटा सीसीटीभी क्यामेरा जडान गरिएको अध्यक्ष साहले जानकारी दिए । सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने समितिले जनाएको छ ।

छठ पर्वमा सूर्यदेव, प्रकृति र छठी माताको उपासना गरिन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने यो पर्व सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ ।

यस वर्ष कात्तिक २७ गते शुक्रबारदेखि सुरु भएको छठ पर्वको व्रत विधि कात्तिक ३० गते सोमबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट