Logo

Nov 09 2026 | २०८३, कार्तिक २४गते

पटका पड्काएपछि दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा

पटका पड्काएपछि दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा

दीपावलीपछि सोमबार बिहान दिल्लीको वायु गुणस्तर खतरनाक अवस्थामा पुगेको छ, र पटपडगञ्जमा एक्यूआई ४१८ पुगेको थियो। उत्तर प्रदेशका नोएडा, गाजियाबाद, कानपुर र वाराणसीसहित १० सहरको वायु गुणस्तर सोमबार खतरनाक अवस्थामा पुगेको थियो।

दीपावलीपछि सोमबार बिहान दिल्लीको वायु गुणस्तर खतरनाक अवस्थामा पुगेको छ । आइतबार राति मानिसहरूले ठूलो मात्रामा पटका पड्काएपछि सोमबार बिहान दिल्लीका विभिन्न क्षेत्रमा हुस्सु र धुवाँका कारण भिजिबिलिटी निकै कम भएको थियो ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार दिल्लीको पटपडगञ्जमा वायु गुणस्तर सूचांक (एक्यूआई) ४१८, आईटीओमा ४०६, राजीव चोकमा ३८१ र साउथ एक्सटेन्सन आसपासको क्षेत्रमा ३६० पुगेको थियो ।

उत्तर प्रदेशका नोएडा, गाजियाबाद, कानपुर र वाराणसीसहित १० सहरको वायु गुणस्तर सोमबार खतरनाक अवस्थामा पुगेको थियो । बिहान ७ बजे प्रयागराज, गोरखपुर र लखनउको एक्यूआई ५०० नाघेको थियो ।

उत्तर प्रदेशमा चिसो र हुस्सुको प्रभाव पनि देखिन थालेको छ । १५ भन्दा बढी सहरमा बाक्लो हुस्सु लागेको थियो । रातिको तापक्रम १५ डिग्री सेल्सियसभन्दा तल झरेको छ । मध्यप्रदेशमा पनि चिसो बढिरहेको छ । आइतबार राति भोपाल, इन्दौरसहित १४ सहरको तापक्रम १४ डिग्री सेल्सियसभन्दा कम थियो ।

राजस्थानका सहरमा आइतबार दिनको तापक्रम सामान्यभन्दा बढी थियो । बाडमेरमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । पछिल्लो १० वर्षमा यहाँ तापक्रम ३८ डिग्रीभन्दा माथि पुगेको यो दोस्रो पटक हो ।

दीपावलीमा गरिएको आतसबाजीका कारण मध्यप्रदेशमा पनि वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । इन्दौरमा नोभेम्बर ८ को राति ११ बजेर ११ मिनेटसम्म वायु गुणस्तर एक्यूआई  ३२० पुगेको थियो । यसलाई अत्यन्तै खतरनाक श्रेणीमा राखिएको छ ।

वायुको गुणस्तर कसरी मापन गरिन्छ ?

वायुको गुणस्तर मापन गर्न वायु गुणस्तर सूचकको प्रयोग गरिन्छ । यसले हामीले सास फेर्ने हावा कति स्वच्छ वा प्रदूषित छ र त्यसले मानव स्वास्थ्यमा कस्तो असर पार्न सक्छ भन्ने देखाउँछ । सजिलो भाषामा भन्नुपर्दा, एक्यूआई जति बढी हुन्छ, हावा त्यति नै बढी प्रदूषित र स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ। विभिन्न स्थानमा राखिएका वायु गुणस्तर मापन केन्द्रमा विशेष उपकरण प्रयोग गरेर हावामा रहेका प्रदूषकको मात्रा मापन गरिन्छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले मुख्यतः आठ प्रकारका प्रदूषकको मात्रा मापन गरेर एक्यूआई निर्धारण गर्छ ।

प्रदूषित हावाले मानव स्वास्थ्यमा के असर गर्छ ?

प्रदूषित हावामा रहेका धुलो, धुवाँ, विषाक्त ग्यास र सूक्ष्म कण श्वासप्रश्वासमार्फत शरीरभित्र प्रवेश गर्छन् । यसको असर तत्काल पनि देखिन सक्छ र लामो समयसम्म सम्पर्कमा रहँदा दीर्घकालीन स्वास्थ्य समस्या पनि निम्तिन सक्छ ।

– फोक्सोको कार्यक्षमतामा कमी आउन सक्छ ।

– दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्न सक्छ ।

– मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम बढ्न सक्छ ।

– फोक्सोको क्यान्सरको जोखिम बढ्न सक्छ ।

– मस्तिष्क तथा स्नायु प्रणालीमा समेत नकारात्मक असर पर्न सक्छ ।

गर्भवती महिला र बालबालिकालाई किन बढी जोखिम ?

वायु प्रदूषण सबैका लागि हानिकारक भए पनि गर्भवती महिला, गर्भस्थ शिशु, बालबालिका, वृद्धवृद्धा र दम तथा मुटुका बिरामी बढी जोखिममा हुन्छन् । गर्भावस्थामा प्रदूषित हावाको सम्पर्कले गर्भवती महिलाको श्वासप्रश्वास तथा मुटुको स्वास्थ्यमा असर पार्न सक्छ । विभिन्न अनुसन्धानले वायु प्रदूषणको सम्पर्क र कम तौलका शिशु जन्मिने तथा समय नपुगी प्रसूति हुने जोखिमबीच सम्बन्ध देखाएका छन् ।बालबालिकाको फोक्सो विकास भइरहेको हुने भएकाले प्रदूषित हावाले उनीहरूको श्वासप्रश्वास प्रणालीमा असर पार्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट