Logo

Nov 12 2026 | २०८३, कार्तिक २७गते

लमजुङको देउसीभैलोमा विदेशी पर्यटकको रमाइलो

लमजुङको देउसीभैलोमा विदेशी पर्यटकको रमाइलो

लमजुङ : नेपालीको मौलिक र सांस्कृतिक महत्त्व बोकेको पर्व तिहारमा सहरबजारदेखि गाउँसम्मै देउसीभैलो खेलिएको छ। आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकतालाई जोड्ने देउसीभैलोमा विदेशी पर्यटकसमेत रमाए ।चक्रीय अन्नपूर्ण पदमार्गको भ्रमणमा आएका पर्यटक लमजुङ सदरमुकाम बेंसीसहरमा स्थानीय युवायुवतीसँगै देउसीभैलो खेलेर रमाएका हुन्। पदयात्राका क्रममा पहिलो रात बिताउन बेंसीसहर आएका पर्यटक मनाङे चौतारास्थित होटलमा बसेका थिए। सोही क्रममा उनीहरू सडकमा स्थानीय युवायुवतीले खेलिरहेको देउसीभैलोमा सहभागी भएका हुन्।

मनाङे चौतारास्थित नमस्ते थकाली किचनका सञ्चालक टेकजङ गुरुङले साँझपख विदेशी पर्यटक स्थानीय युवायुवतीसँगै देउसीभैलोमा झुमेको बताए। त्रिवेणी युवा क्लबका अध्यक्षसमेत रहेका उनले पर्यटकले नेपाली संस्कृति, परम्परा र चाडपर्वबारे बुझ्दै देउसीभैलोमा रमाएको बताए।पर्यटक मादल र खैंजडी बजाउने, ड्रमसेटको तालमा नाच्ने तथा गीतसंगीतमा रमाउने कार्यक्रममा सहभागी भएका थिए। गंगापूर्ण होटलका सञ्चालक प्रकाश घलेका अनुसार देउसीभैलो खेल्ने, नाचगान गर्ने र रमाइलो गर्ने क्रममा पर्यटकले नेपाली चाडपर्वको अनुभवसमेत बटुलेका छन्। ‘विदेशी पर्यटक घुम्न र रमाउन नै आएका हुन्। नेपाली संस्कृतिमा रमाउन पाउँदा उनीहरूले नयाँ अनुभवसमेत बटुलेका छन्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट