Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

पर्यटकलाई घुमफिरसँगै सामाजिक सेवामा जोड्दै ग्रीन सोसाइटी, विकट चेपाङ बस्तीमा स्वास्थ्य शिविरदेखि शैक्षिक सहयोगसम्म

पर्यटकलाई घुमफिरसँगै सामाजिक सेवामा जोड्दै ग्रीन सोसाइटी, विकट चेपाङ बस्तीमा स्वास्थ्य शिविरदेखि शैक्षिक सहयोगसम्म

सौराहा : चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहा घुम्न आउने पर्यटकलाई पर्यटकीय स्थलको अवलोकनसँगै सामाजिक सेवामा समेत जोड्ने अभियान सुरु भएको छ। ग्रीन सोसाइटी नेपाल, सौराहाले पर्यटकलाई स्थानीय समुदायको अवस्था बुझाउँदै सामाजिक सेवामा प्रत्यक्ष सहभागी गराउन थालेको हो।

विगत दुई दशकदेखि सामाजिक क्षेत्रमा सक्रिय युवा पर्यटन व्यवसायी एवं समाजसेवी शिरलाल परियारको विशेष पहलमा सञ्चालित ग्रीन सोसाइटीले चितवनका विकट पहाडी क्षेत्रका विपन्न समुदायको स्वास्थ्य, शिक्षा र बालबालिकाको हकहितका क्षेत्रमा काम गर्दै आएको छ।

विशेषगरी राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका पहाडी क्षेत्रमा बसोबास गर्ने अति विपन्न चेपाङ समुदायलाई लक्षित गरी संस्थाले स्वास्थ्य शिविर, शैक्षिक जागरण अभियान, शैक्षिक सामग्री वितरण तथा खाद्यान्न र खाजा सहयोगलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सामाजिक रूपान्तरणमा सक्रिय दाजुभाइ

ग्रीन सोसाइटीको सामाजिक अभियानमा शिरलालका दाजु शेरबहादुर परियारले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। दाजु शेरबहादुर र भाइ शिरलाल दुवै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित लामो समयदेखि सामाजिक सेवामा सक्रिय व्यक्तित्व हुन्।

विशेषगरी चितवनका विकट पहाडी क्षेत्रमा बसोबास गर्ने विपन्न चेपाङ समुदायको स्वास्थ्य, शिक्षा तथा बालबालिकाको भविष्य सुधारका लागि उनीहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। सौराहाको पर्यटनलाई सामाजिक सेवासँग जोड्दै पर्यटकलाई समेत मानवीय सेवामा सहभागी गराउने उनीहरूको प्रयासले पर्यटनमार्फत सामाजिक रूपान्तरणको सम्भावनालाई अघि बढाएको छ।

सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन धेरै हुने भएकाले सामाजिक सेवामा रुचि राख्ने पर्यटकलाई प्रत्यक्ष रूपमा समुदायसँग जोड्ने प्रयास गरिएको ग्रीन सोसाइटीका महासचिव शिरलाल परियारले बताए।

'धेरै पर्यटक सामाजिक काममा सहयोग गर्न चाहनुहुन्छ। तर सहयोग रकम दिएर मात्रै सामाजिक सेवा पूरा हुँदैन। हामी पर्यटकलाई आफैँ विकट बस्तीमा पुर्‍याएर त्यहाँको जनजीवन देखाउँदै प्रत्यक्ष रूपमा सेवामा सहभागी गराउँछौँ,' परियारले भने।

जर्मनीका हार्टमुट ड्राम्सटाट पनि ग्रीन सोसाइटीसँगै सामाजिक अभियानमा सहभागी हुँदै आएका छन्। विगतमा नेपाल भ्रमण गर्ने गरेको स्मरण गर्दै उनले अहिले संस्थासँगै दुर्गम गाउँमा पुगेर स्थानीयलाई प्रत्यक्ष सहयोग गर्न पाउँदा खुसी लागेको बताए।

विकट चेपाङ बस्तीमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर

यसै अभियानअन्तर्गत शुक्रबार कालिका नगरपालिका–११ स्थित माझवाङ माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर तथा एक वर्षका लागि पुग्ने शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।

विकट पहाडी गाउँमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पाएपछि स्थानीय चेपाङ समुदायले खुसी व्यक्त गरेका छन्। गाउँमै चिकित्सक आएर स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि उपलब्ध गराउँदा ठूलो राहत मिलेको उनीहरूको भनाइ छ।

शिविरमा हाडजोर्नी, जनरल मेडिसिन, बालरोग, आँखा परीक्षण, रक्तचाप तथा मधुमेह परीक्षणलगायतका सेवा प्रदान गरिएको थियो। बकुलहर रत्ननगर अस्पतालका हाडजोर्नी विभागका डा. सुरज बिडारीको नेतृत्वमा पाँच सदस्यीय चिकित्सक टोलीले स्थानीयको स्वास्थ्य परीक्षण गरेको थियो।

टोलीमा हाडजोर्नी विशेषज्ञ डा. शैलेस खनाल, बालरोग विशेषज्ञ डा. जगन्नाथ शाह, मेडिकल अधिकृत डा. निशा घले र डा. भूमिका आचार्य सहभागी थिए।

शिविरमा जटिल स्वास्थ्य समस्या देखिएका बिरामीलाई थप उपचारका लागि रत्ननगरमा उपचारको व्यवस्था मिलाइएको परियारले जानकारी दिए।

कार्यक्रममा कुपोषण न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले २५० भन्दा बढी बालबालिकालाई सर्वोत्तम लिटो वितरण गरिएको थियो। त्यसैगरी बालबालिकालाई झुल तथा महिलालाई निःशुल्क स्यानिटरी प्याडसमेत वितरण गरिएको थियो।

माझवाङ माध्यमिक विद्यालयमा ९४ जना चेपाङ समुदायका विद्यार्थी अध्ययनरत छन्। उनीहरूको शैक्षिक निरन्तरतामा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालयलाई एक वर्षसम्म पुग्ने शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।

शिविरबाट कालिका नगरपालिका–११ लगायत आसपासका क्षेत्रका ४०० भन्दा बढी स्थानीयले स्वास्थ्य सेवा लिएका थिए।

कार्यक्रममा कालिका नगरपालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजाले विकट बस्तीमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्‍याएकोमा ग्रीन सोसाइटी नेपाल र सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे।

पर्यटनलाई मनोरञ्जन र घुमफिरमा मात्र सीमित नराखी स्थानीय समुदायको जीवनस्तर सुधार तथा सामाजिक उत्तरदायित्वसँग जोड्ने ग्रीन सोसाइटीको यो अभियानले सौराहामा आउने पर्यटकलाई मानवीय सेवामा सहभागी गराउने नयाँ अभ्यासको सुरुवात गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट