Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

निर्वाचनको शक्तिलाई दम्भ र प्रतिशोधको माध्यम नबनाउन रास्वपा सभापति रवि लामिछानेको चेतावनी

निर्वाचनको शक्तिलाई दम्भ र प्रतिशोधको माध्यम नबनाउन रास्वपा सभापति रवि लामिछानेको चेतावनी

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनबाट प्राप्त शक्तिलाई दम्भ र प्रतिशोधको माध्यम बनाउने छुट कसैलाई नभएको बताउनुभएको छ ।

शुक्रबार चितवनमा आयोजित पार्टीको कार्यक्रममा विशेष सम्बोधन गर्दै सभापति लामिछानेले सरकारको नेतृत्व गरिरहेको पार्टीका नेता तथा कार्यकर्ताले सत्ता र शक्तिको उन्मादमा नभई जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।

पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार, गतिविधि र कार्यशैलीलाई समाजले नजिकबाट नियालिरहेको उल्लेख गर्दै उहाँले आलोचना गर्ने अवसर कसैलाई दिन नहुने बताउनुभयो । समाजले देखाएका कमजोरी स्वीकार गर्दै सुधारको बाटोमा अघि बढ्नु नै राजनीतिक परिपक्वता भएको उहाँको भनाइ थियो ।

‘सत्तामा छौँ, ठूला पार्टीका नेता–कार्यकर्ता हौँ भन्दैमा ठालू पल्टिने छुट कसैलाई छैन । त्यो हाम्रो राजनीतिक चरित्र पनि होइन,’ उहाँले भन्नुभयो ।

लामिछानेले विगतमा रास्वपामा आबद्ध भएकै कारण आफ्ना नेता तथा कार्यकर्ताले विभिन्न किसिमका राजनीतिक प्रताडना भोग्नुपरेको स्मरण गर्नुभयो । विगतका सरकारबाट आफूहरूमाथि अपमान र प्रतिशोध भएको भन्दैमा अहिले आफूहरूबाट पनि प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने काम नहुने उहाँले स्पष्ट पार्नुभयो ।

‘हिजोका सरकारबाट हामीमाथि अपमान भयो, प्रतिशोध साँधियो भन्दैमा आज प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने काम हामीबाट पनि हुन्छ भनेर कसैले नसोचे हुन्छ,’ उहाँले भन्नुभयो, ‘ढुक्क हुनुस्, जनताले दिएको यो अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग कसैबाट हुँदैन ।’

सभापति लामिछानेले पार्टी र सरकारबीच दरार सिर्जना गर्न विभिन्न पक्ष लागिपरेको दाबी गर्दै त्यस्ता हल्ला र अफवाहमा विश्वास नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

निर्वाचनबाट प्राप्त जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले पार्टीको राजनीतिक चरित्र, आचरण र कार्यशैली जनताको अपेक्षाअनुसार हुनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट