Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

चितवन : चितवनको घरजग्गा तथा निर्माण क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित भरतपुरमा तीनदिने ‘बिल्ड नेपाल एक्स्पो’ आयोजना हुने भएको छ। नारायणी जग्गा तथा आवास व्यवसायी संघ भरतपुर, चितवन, भी ग्रुप र एस वान होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म एक्स्पो सञ्चालन हुन लागेको हो।
एक्स्पोको उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। सो अवसरमा लामिछानेले भरतपुरमा जग्गाको कित्ताकाट प्रक्रिया छिट्टै खुलाउने विषयमा आश्वासनसमेत दिएको संघका अध्यक्ष बाबुराम अधिकारीले जानकारी गराए । 
घर निर्माणदेखि घरजग्गा कारोबारसम्मका सेवा, सामग्री र लगानीका अवसरलाई एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको हो। मेलामा निर्माण सामग्री, घर तथा भवन निर्माण, आर्किटेक्चर, इन्टेरियर डिजाइन, घरजग्गा खरिद–बिक्री तथा जग्गामा लगानीका अवसरसम्बन्धी जानकारी र सेवा प्रस्तुत गरिने अपेक्षा गरिएको छ।
चितवनमा घरजग्गा तथा निर्माण व्यवसायसँग जोडिएका व्यवसायी, लगानीकर्ता, सेवाप्रदायक र सर्वसाधारणबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।
एक्स्पोले निर्माण तथा आवास क्षेत्रको व्यवसाय विस्तार, नयाँ लगानी आकर्षित, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, घर निर्माण गर्ने योजना बनाइरहेका सर्वसाधारणका लागि आवश्यक सामग्री, प्रविधि, डिजाइन र सेवाबारे एकै स्थानबाट जानकारी लिने अवसरसमेत मिल्नेछ।
‘Build Nepal Expo – Your First Step Towards Your Dream Home’ भन्ने नारासहित आयोजना हुन लागेको एक्स्पोले चितवनको घरजग्गा तथा निर्माण क्षेत्रलाई नयाँ सम्भावनासँग जोड्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट