कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको दुरुपयोगले व्यक्ति, राजनीति र समाजमा गलत सूचना फैलाएर धारणा निर्माणमा गम्भीर प्रभाव पारेको छ।प्रविधिको प्रयोग गर्ने मानिसको नियत र त्यसलाई विवेकबिना विश्वास गर्ने बानीले समस्या निम्त्याएको छ, जसले गर्दा सत्य पत्ता लाग्नुअघि नै व्यक्तिको प्रतिष्ठामा अपूरणीय क्षति पुग्न सक्छ।नेपालमा इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको सन्दर्भमा तथ्यजाँच, आलोचनात्मक सोच र डिजिटल साक्षरताको महत्त्व बढेको छ।पहिले कुनै डाँडा, चिया पसल वा गाउँको चौतारीमा बसेर मानिसहरू आफ्ना कुरा राख्थे। बेला बेलामा हुने आमसभामा कसैले भाषण गर्थ्यो, कसैले आफ्नो पक्षमा माहोल बनाउँथ्यो र कोही त्यही माहोलका आधारमा हिरो वा नेता बन्थ्यो। त्यतिबेला पनि गलत कुरा भने नफैलिने हैनन्, व्यक्तिको देवत्वकरण नहुने हैन र चरित्रहत्या पनि गरिन्थ्यो। तर त्यसको प्रभाव फैलिने गति र दायरा अहिलेको तुलनामा सीमित थियो। मानिसलाई प्रत्यक्ष भेटेर उसका कुरा सुन्ने, व्यवहार नियाल्ने र विगतबारे बुझ्ने अवसर हुन्थ्यो, कुनै व्यक्तिबारे धारणा बनाउनुअघि उसका समर्थक र विरोधी दुवै पक्षसँग कुरा गर्न सकिन्थ्यो ।
तर आज परिस्थिति बदलिएको छ; मानिसको वास्तविक जीवनभन्दा पर्दामा देखिने जीवन बढी शक्तिशाली बन्दै गएको छ। कुनै व्यक्तिका सयौँ राम्रा काम ओझेलमा पारेर एउटा कमजोरीलाई भाइरल बनाइन्छ, एउटा भाषणको केही सेकेन्ड काटेर सन्दर्भविहीन भिडियो तयार गरिन्छ अनि त्यसमा उत्तेजक शीर्षक र नकारात्मक टिप्पणी थपिन्छन्। अहिले त झन कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर कसैले नबोलेको कुरा बोलेको जस्तो, नगरेको काम गरेको जस्तो र नभएको घटना वास्तविकजस्तै देखाउन सकिन्छ अनि त्यसपछि सुरु हुन्छ भाष्य निर्माणको खेल, न्यारेटिभको खेल। सत्य के हो भनेर बुझ्नुअघि नै हजारौँ मानिसले आफ्नो धारणा बनाइसकेका हुन्छन् तर वास्तविकता पत्ता लाग्दासम्म कसैको प्रतिष्ठामा अपूरणीय क्षति पुगिसकेको भने हुन सक्छ।
समस्या कदापी प्रविधि आफैँ होइन, त्यसको प्रयोग गर्ने मानिसको नियत र त्यसलाई विवेकबिनै विश्वास गर्ने हाम्रो बानी हो, स्वतन्त्र अभिव्यक्ति लोकतन्त्रको महत्त्वपूर्ण आधार पनि हो तर स्वतन्त्रताको अर्थ आफूलाई मन लागेको आरोप प्रमाणबिनै लगाउन पाउनु, अरूको प्रतिष्ठामाथि खेलवाड गर्नु वा सामाजिक सञ्जालमा देखिएको हरेक कुरालाई सत्य ठान्नु भन हुँदै होइन। प्रश्न उठाउनु अधिकार हो, तर आरोपित प्रश्नसँग प्रमाण हुन तुअती नै जरुरी पनि हुन्छ, आलोचना आवश्यक छ, तर आलोचनाका नाममा झुट फैलाउने छुट कसैलाई हुन हुन्न।नेपालमा इन्टरनेटको विस्तारले यो विषयलाई अझ महत्त्वपूर्ण बनाएको छ। डाटा रिपोर्टल को प्रतिवेदनअनुसार सन् २०२५ को अन्त्यतिर नेपालमा करिब एक करोड ६६ लाख इन्टरनेट प्रयोगकर्ता थिए, जुन कुल जनसङ्ख्याको करिब ५६ प्रतिशत हो।
त्यस्तै, सामाजिक सञ्जालका करिब एक करोड ४८ लाख प्रयोगकर्ता पहिचान अभिलेख गरिएका थिए तर यी पहिचानलाई छुट्टाछुट्टै वास्तविक व्यक्तिको ठ्याक्कै सङ्ख्या मान्न भने सकिन्न। प्रतिवेदन सन् २०२६ का लागि प्रकाशित भए पनि यसका आधारभूत तथ्याङ्क मुख्यतः सन् २०२५ को अवस्थासँग सम्बन्धित हुन सो रिपोट्ले देखाएको यो विस्तारले नेपाली समाजमा डिजिटल माध्यमको प्रभाव कति व्यापक भइसकेको छ भन्ने अनुमान गर्न सकिन्छ।इन्टरनेटमा पहुँच बढ्नु फरक कुरा हो भने सूचना बुझ्ने क्षमता बढ्नु नितानत अर्कै कुरा हो। अध्ययन, अनुसन्धान र तथ्यजाँचभन्दा पनि अहिले छोटो भिडियो, आकर्षक प्रस्तुति र भाइरल सामग्रीका आधारमा धारणा बनाउने प्रवृत्ति बढ्दै जाँदा यसको प्रभाव व्यक्ति हुँदै समाज र राजनीतिसम्म पुगेको छ।
पाँच मिनेटको भिडियो हेरेर आफूले सम्पूर्ण सत्य बुझिसकेको ठान्नु र त्यसपछि अरूलाई उपदेश दिन थाल्नु ज्ञानको विस्तार होइन, सतही जानकारीबाट पैदा भएको गलत र घातक आत्मविश्वास मात्र हो। कसैको एउटा कमजोरी देख्नु एक कुरा हो भने उसलाई पूर्ण रूपमा खराब ठहर गर्नु अर्कै, कसैको एउटा राम्रो कामका आधारमा उसलाई प्रश्न गर्नै नपर्ने आदर्श व्यक्ति ठान्नु पनि उतिकै घातक हो। आजको पुस्ता, विशेषगरी सामाजिक सञ्जालमा बढी सक्रिय युवाहरू, सूचना र अवसरका हिसाबले अघिल्ला पुस्ताभन्दा धेरै अगाडि छन्, उनीहरूसँग संसारभरका पुस्तक, अनुसन्धान, समाचार र ज्ञान केही सेकेन्डमै उपलब्ध छन्। भ्रष्टाचार, विभेद र अन्यायविरुद्ध आवाज उठाउन सक्ने शक्ति पनि उनीहरूसँग छ तर यही शक्तिसँगै एउटा जोखिम बढेको छ- अध्ययनभन्दा सामग्री, तथ्यभन्दा प्रस्तुति र विश्लेषणभन्दा भावनात्मक प्रतिक्रियालाई प्राथमिकता दिने प्रवृत्ति। यो सबै युवामा देखिने समस्या होइन, तर डिजिटल संस्कृतिले प्रोत्साहित गर्दै गरेको जटिल र असभ्य संस्कार हो।
उमेरअनुसार इन्टरनेट प्रयोगको प्रभाव पनि फरक हुन सक्छ, नेपालमा सबै उमेर समूहका मानिसले कति इन्टरनेट प्रयोग गर्छन् र तिनले गलत सूचना कति पत्याउँछन् भन्ने विषयमा सन् २०२६ को पूर्ण, राष्ट्रिय र विश्वसनीय उमेरगत तथ्याङ्क उपलब्ध त छैन । तर नेपोलियन क्याटको सेप्टेम्बर २०२६ को तथ्याङ्कअनुसार नेपालका इन्स्टाग्राममात्रको प्रयोगकर्तामध्ये १८–२४ वर्ष समूहको हिस्सा ४१.७ प्रतिशत र २५–३४ वर्ष समूहको हिस्सा ३७ प्रतिशत थियो।यो समूह भन्दा माथिका उमेर समुहको इन्टरनेटप्रती लगाव र यसमा एक्स्पोजर कम नै छ तथापी इन्टरनेटका उत्पादन, एआइका कन्टेन्ट उमेर समुहको आधारमा पहिचान गर्ने क्षमता हुन्छ भन्ने हैन तर, भर्खर इन्टरनेटको दुनियामा छिरेका बा आमा हरुलाइ यी कुरा झुट या परिमार्जन गरिएको भनेर छुट्याउन असहज हुन्छ।
जीवनको लामो समय परम्परागत सञ्चारमाध्यम र प्रत्यक्ष सामाजिक सम्बन्धमा बिताएका कतिपय ज्येष्ठ नागरिक अहिले सामाजिक सञ्जालमा प्रवेश गरिरहेका छन्, प्रविधिमा नयाँ हुनु उनीहरूको कमजोरी होइन तर एआईबाट बनाइएका नक्कली भिडियो, आवाज र तस्बिर वास्तविकजस्तै देखिन थालेपछि सही र गलत छुट्याउन कठिन हुन सक्छ। कुनै नेताले नबोलेको कुरा बोलेको जस्तो देखाउने भिडियो, कुनै व्यक्तिले समर्थन नगरेको लगानीको विज्ञापन वा पुरानो घटनालाई नयाँ भनेर प्रस्तुत गरिएको तस्बिरले मानिसलाई भ्रममा पार्न सक्छ यस्तो सामग्री परिवार, समुदाय वा राजनीतिक समूहभित्र फैलिँदा अविश्वास र आक्रोश जन्मिनु स्ववाभिक नै हो।
मानिसले आफ्नै आँखाले देखेको दृश्यलाई समेत प्रमाण मान्न नसक्ने अवस्था आउनु लोकतान्त्रिक समाजका लागि गम्भीर चुनौती हो र मानविय चेतना बिकासमा ठूलो बाधा हो।भारतका आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेवसँग सम्बन्धित घटनाले एआईको यस्तो दुरुपयोग बुझ्न मद्दत गर्छ। सन् २०२५ मा दिल्ली उच्च अदालतसमक्ष पुगेको मुद्दामा उनको नाम, तस्बिर, आवाज र व्यक्तित्वको एआईमार्फत दुरुपयोग गरी नक्कली सामग्री तथा विज्ञापन तयार पारिएको विषय उठाइएको थियो। अदालतले प्रारम्भिक रूपमा व्यक्तित्व अधिकार उल्लङ्घनको जोखिम देख्दै सम्बन्धित सामग्रीविरुद्ध अन्तरिम संरक्षण दिएको थियो।
अहिले फेरि सद्गुरुको नाम र पहिचान प्रयोग गरेर नक्कली सामग्री तयार पारि उनलाइ नराम्रो देखाउन मनग्य पोस्ट हरु छरिएको देख्न सकिन्छ । यो घटनाले सार्वजनिक व्यक्तित्वको छवि कति सजिलै दुरुपयोग हुन सक्छ भन्ने एक उदाहरण देखाउछ , यसबाट बुझ्न सकिन्छ कि आलोचनाका लागि प्रमाण चाहिन्छ; चरित्रहत्या गर्न भने भ्रमको सहारा लिइन्छ। सन् २०२४ को भारतीय आमनिर्वाचनका क्रममा अभिनेता आमिर खान र रणवीर सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेको र विपक्षी कांग्रेसलाई समर्थन गरेको जस्तो देखाउने एआईबाट रूपान्तरित भिडियो फैलिएका थिए । दुवै अभिनेताले ती भिडियो नक्कली भएको त बताएका थिए तर त्यसले चुनावी समयमा एआईबाट तयार पारिएका सामग्रीले जनमत र सार्वजनिक बहसमा जोखिमपारेको बिज्ञहरु बताउँछन् । कुनै नेताको वास्तविक भनाइभन्दा उसले बोलेको जस्तो बनाइएको नक्कली भनाइ बढी फैलियो भने मतदाताले निर्णय तथ्यका आधारमा होइन, कृत्रिम रूपमा निर्माण गरिएको भावनाका आधारमा लिन सक्छन्।
हामी नेपालमा नै हेरौ नेपालले पनि यसको मूल्य चुकाइसकेको छ सन् २०२५ सेप्टेम्बरमा भएको जेन–जी आन्दोलन भ्रष्टाचार, नातावाद, राजनीतिक जवाफदेहिताको अभाव र सामाजिक सञ्जालमाथिको प्रतिबन्धप्रतिको असन्तुष्टिबाट अघि बढेको थियो। तर हामिले आन्दोलनलाई केवल सामाजिक सञ्जालको प्रतिबन्ध वा गलत सूचनाको परिणाम भनेर बुझ्नु यसको व्यापक पृष्ठभूमिलाई नबुझ्नु हुन्छ तथापी आन्दोलनका क्रममा र त्यसपछि फैलिएका भ्रामक सामग्रीले परिस्थिति थप जटिल बनाएको तथ्यजाँच विभिन्न प्रतिवेदनहरूले देखाएका छन्।
सेन्टर फर मिडियाबिभिन्न नेपालको Misinformation during the Gen Z Uprising in Nepal प्रतिवेदनले आन्दोलनका क्रममा मृत्युको सङ्ख्याबारे अतिरञ्जित दाबी, धार्मिक तथा राजनीतिक विषयमा गलत सूचना र भावनात्मक सामग्री फैलिएको उल्लेख गरेको छ। त्यसैगरी, नेपालमा प्रदर्शन भइरहेको भनेर सामाजिक सञ्जालमा प्रचार गरिएको एउटा भिडियो वास्तवमा भारतको सिक्किममा खिचिएको पुरानो दृश्य भएको एएफपीको तथ्यजाँचले पुष्टि गरेको थियो। यसको अर्थ फेरि जेन–जी आन्दोलनका माग गलत थिए भन्ने होइन। बरु न्यायोचित माग उठाउने आन्दोलनसमेत अपुष्ट सूचना र राजनीतिक स्वार्थको चपेटामा पर्न सक्छ भन्ने हो। सामाजिक सञ्जालले युवालाई संगठित गर्यो, अन्यायविरुद्ध बोल्ने अवसर दियो र स्थापित शक्तिलाई चुनौती दिन सहयोग गर्यो तर यही माध्यमले भ्रम, उत्तेजना र ध्रुवीकरणलाई पनि तीव्र बनायो, आग जनि गर्यो, राष्ट्रिय सम्पत्ति , दस्तावेज जल्यो।
मुल्यांकन गर्दै जादा भाष्य ( न्यारेटिभको) राजनीतिमा असर झन् गम्भीर हुन्छ आलोचना गर्नुपर्ने विषयमा तथ्य प्रस्तुत गर्नुको सट्टा व्यक्तिको अनुहार, परिवार, निजी जीवन वा चरित्रमाथि आक्रमण गरिन्छ। आफ्नो पक्षको गल्तीलाई सामान्य ठानिन्छ भने विपक्षीको सामान्य कमजोरीलाई ठूलो अपराधका रूपमा प्रचार गरिन्छ किनकी कुनै नेताले राम्रो काम गरे पनि विरोधीले स्वीकार गर्दैन, नराम्रो काम गरे पनि समर्थकले प्रश्न उठाउँदैन। यस्तो वातावरणमा लोकतन्त्रको सार कमजोर हुन्छ लोकतन्त्र भनेको आफ्नो पक्षलाई सधैँ सही ठान्नु होइन, आफूले समर्थन गरेको पक्षलाई पनि जवाफदेही बनाउन सक्नु हो जुन हामिले भुल्दै जाँदै छौ या बुझेकै छैनौ।
सामाजिक सञ्जालको अर्को समस्या यसको आर्थिक संरचनासँग जोडिएको छ धेरै कन्टेन्ट बन्नु धेरै दर्शकको ध्यान तान्नु हो जुन आम्दानीको आधार बन्छ जस्ले शान्त, सन्तुलित र प्रमाणमा आधारित सामग्रीभन्दा रिस उठाउने, डर पैदा गर्ने, अपमान गर्ने वा विवाद बढाउने सामग्रीले बढी ध्यान पाउने सम्भावना हुन्छ।कन्टेन्टको उद्देश्य पैसा मात्र कमाउनु हो भन्न मिल्दैन, तर कन्टेन्टलाइ आम्दानीमा बदल्ने प्रणालीले उत्तेजक सामग्रीलाई प्रोत्साहन गरिरहेको छ र समाजलाई जोड्नेभन्दा फुटाउने सामग्रीले चर्चा पाउनाले त्यासको बिकास हुन थालेको छ।
विदेशमा बस्ने नेपाली पनि यस प्रवृत्तिबाट अलग भन छैनन, उनीहरूले स्वदेशका समस्या उजागर गर्न, भ्रष्टाचारविरुद्ध आवाज उठाउन र सुधारका लागि योगदान दिन पर्ने तर स्थानीय अवस्था, कानुनी प्रक्रिया र घटनाको पृष्ठभूमि नबुझी टाढाबाटै सम्पूर्ण समाजलाई निकम्मा, देशलाई असफल वा यहाँ बस्ने सबै मानिसलाई गलत ठहर गर्ने बानिको बिकास गरेका छन्।विदेशमा बस्नु आफैँमा समाजबाट टाढा हुनु होइन; तर अधुरो सूचना हेरेर सम्पूर्ण देशबारे निष्कर्ष निकाल्नु भने समस्या हो जुन घातक हुन्छ। सामाजिक सञ्जालमा देखिने जीवनलाई वास्तविक जीवन ठान्नु पनि उत्तिकै जोखिमपूर्ण छ, महँगो गाडी, विदेश यात्रा, विलासी घर र आकर्षक जीवनशैलीका तस्बिरले मानिसको सम्पूर्ण आर्थिक अवस्था देखाउँदैनन् न त ऋण, पारिवारिक तनाव, असफलता र सङ्घर्ष देखाउछ।
अरूको देखावटी सफलतासँग आफ्नो वास्तविक जीवन तुलना गर्दा असन्तुष्टि, हीनभावना र अनावश्यक प्रतिस्पर्धा बढ्न सक्छ आफ्नो जीवनको मूल्य अरूले दिएको लाइक, कमेन्ट र भ्युजबाट मापन गर्न थालियो भने आत्मसम्मानसमेत अरूको प्रतिक्रियामा निर्भर हुन पुग्नु पर्छ जुन अहिले समस्या बन्दै छ।यसको प्रभाव सामाजिक मूल्य मान्यतामा पर्न थालेको छ, नयाँ पुस्ताले पुराना मान्यता प्रश्न गर्नु स्वाभाविक र आवश्यक हो र जायज पनि तर परम्पराको समीक्षा गर्नु र सबै परम्परालाई उपहास गर्नु भने एउटै कुरा होइन। धर्म र संस्कृतिको नाममा हुने अन्यायलाई चुनौती दिनुपर्छ, तर धर्म, संस्कार र सांस्कृतिक पहिचानलाई बुझ्दै नबुझी तिरस्कार गर्नु विवेकपूर्ण दृष्टिकोण कदापी होइन।
अभिभावकप्रतिको सम्मान, ठूलासँगको व्यवहार, सार्वजनिक मर्यादा, जिम्मेवारीबोध र पारिवारिक सम्बन्धका मानवीय मूल्य आज पनि उत्तिकै महत्त्वपूर्ण छन् जुन इन्टरनेटको समाजमा हराउदै छन। सम्मानको अर्थ अन्धआज्ञाकारिता होइन, स्वतन्त्रताको अर्थ अरूलाई अपमान गर्ने छुट पनि होइन।आज केही युवामा देखिने अस्थिरता, तुरुन्तै प्रसिद्ध हुने चाहना र सामग्रीबाट छिटो पैसा कमाउने सोचलाई पनि यही सन्दर्भमा बुझ्नुपर्छ। मेहनत, अध्ययन र दीर्घकालीन सीप निर्माणभन्दा छिटो चर्चित हुने बाटो आकर्षक देखिन थालेपछि स्थायित्व र धैर्य कमजोर हुन थालेको यथार्थ नकार्न सकिन्न र यो समस्या सबै युवामा छ मात्र हैन प्रयोगकर्ता धेरैमा हुन थालेको छ।
यही पुस्तामा नयाँ उद्यम सुरु गर्ने, सामाजिक अन्यायविरुद्ध उभिने, प्रविधि विकास गर्ने र समाजलाई सकारात्मक योगदान दिने युवाहरू पनि छन् ,उनीहरूको सम्भावनालाई कमजोर पार्ने होइन, सही दिशामा अघि बढ्न सहयोग गर्ने वातावरण चाहिन्छ जसको लागि स्व अध्ययन आवश्यक छ।अन्ततः समाज केवल प्रविधिलेमात्र बिग्रँदैन; प्रविधिको प्रयोगसँगै विवेक, जिम्मेवारी र सामाजिक उत्तरदायित्व हराउँदा बिग्रन्छ। कुनै सामग्री पोस्ट गर्नुअघि त्यसको स्रोत जाँच्ने, पूरा भिडियो वा सन्दर्भ हेर्ने, एउटै विषयका फरक स्रोत पढ्ने र प्रमाण नपुगेसम्म निष्कर्ष ननिकाल्ने बानी विकास गर्नुपर्छ।
विद्यालयदेखि परिवारसम्म डिजिटल साक्षरता, आलोचनात्मक सोच र सम्मानजनक संवादलाई महत्त्व दिनुपर्छ कन्टेन्ट बनाउनेले उ पनि भ्युज र आम्दानीभन्दा सत्य र सामाजिक असरलाई प्राथमिकता दिनुपर्छ तर यो भाव बिरलै भेटिन्छ।पहिले चौतारीमा बसेर गलत भाष्य बनाउने मानिसको कुरा सीमित गाउँसम्म पुग्थ्यो होला तर आज त्यही भाष्य केही घण्टामै लाखौँ मानिससम्म पुग्न सक्छ। पहिले प्रत्यक्ष भेटघाट र संवादबाट व्यक्तिको व्यवहार बुझ्ने अवसर बढी थियो; अहिले हामीले देखेको दृश्यसमेत कृत्रिम हुन सक्छ , त्यसैले आज सत्यको रक्षा गर्नु पहिलेभन्दा कठिन र पहिलेभन्दा आवश्यक भएको छ।हामीले प्रविधि प्रयोग गर्न सिक्यौँ, अब त्यसको बीचमा विवेक जोगाउन सिक्नुपर्छ यो गर्न नसके स्वतन्त्रताको नाममा सुरु भएको यात्रा अरूले तयार पारेको भाष्यको दासत्वमा पुगेर टुङ्गिन सक्छ। देश गलत न्यारेटिभको आड लाग्दै उधोगती तर्फ बढ्दै पुर्ण रुपले द्वन्द्वम फस्न सक्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij