बाँके : पछिल्लो केही दिनयता गाउँघरमा दसैँको चहलपहल र उल्लास बढेको छ । प्रत्येक घरआँगन सरसफाइ र रङरोगन गरी चिटिक्क पारिएको छ ।वर्षभरि टाढा रहेका आफन्त मान्यजनको हातबाट टीका र जमरा थाप्न गाउँघर फर्किरहेका छन् ।नेपालगञ्ज–२० मनिकापुर थपुवाका १६ वर्षीय सुभास नेपाली, उनका ११ वर्षीय भाइ अश्विन र नौ वर्षीया बहिनी स्मारिकाका लागि भने यस वर्षको दसैँ खुसी होइन आँसु र पिरलो बोकेर आएको छ आमाबुवा आराम दमाईं र उजना दमाईं भोटेकोशीको बाढीमा बेपत्ता भएको आज ५० दिन पुगिसकेको छ ।सबैका घरमा आमाबुवाको हातबाट टीका लगाउने र मीठोमसिनो खाने चटारो हुँदा ती तीन कलिला बालबालिका भने आमाबुवा फर्किने आशा र निराशामा दिन बिताइरहेका छन् ।
‘आमाबुवा फर्किएर आउने आशामा बसेको दुई महिना हुन लाग्यो, केही अत्तोपत्तो भएन । दसैँ आयो, आमाबुवा आउनुभएन’, जेठा छोरा सुभास भक्कानिँदै भने, ‘बाढीले आमाबुवालाई बेपत्ता बनाएपछि हामी पूरै सहाराविहीन भयौँ । दसैँ आउँदा आमाबुवाको झन् धेरै यादले सताइरहेको छ ।’नेपालीको महान् पर्व बडादसैँ घरआँगनमा आइपुगेको छ तर, बाढीमा परी बेपत्ता आराम दमाईं र उजना दमाईं हालसम्म पनि नफर्किदा सहाराविहीन उनका छोराछोरीमा निराश छन् ।मूल थलो बाजुराको हिमाली गाउँपालिकाबाट नेपालगञ्जको मनिकापुरस्थित थपुवामा बसाइँ सरेका आराम दमाईं र उजना दमाईंका लागि हन्डर र सङ्घर्ष नयाँ कुरा थिएनन् ।तर, आफ्ना सन्तानले आफूले जस्तै अभाव र दुःख भोग्न नपरोस् भनेर उनीले एउटा ठूलो र सुन्दर सपना बुनेका थिए, छोराछोरीलाई काठमाडौँमा राखेर राम्रो शिक्षा दिने ।
नेपालगञ्जमा सोचेजस्तो रोजगारी नपाएपछि यो दम्पती रसुवा भन्सार कार्यालयको टिमुरेस्थित पार्किङमा मजदुरी गर्न पुगेको थियो ।दिनरात पसिना बगाएर कमाएको रकमले काठमाडौँमा कक्षा ९ मा पढ्ने सुभास, कक्षा ६ मा पढ्ने अश्विन र कक्षा ४ मा पढ्ने सानी बहिनी स्मारिकाको उज्ज्वल भविष्यको जग बसिरहेको थियो ।‘आमा–बुवाले रसुवाबाट दुःख गरेर पैसा पठाइदिनुहुन्थ्यो, हामी यहाँ ढुक्कले पढ्थ्यौँ’, छोरा सुभासले भने, ‘अहिले बाढीले दुवैजनालाई बेपत्ता बनाएको छ, हामी सहाराविहीन भयौँ । अब हाम्रो टाउकोमा हात राख्ने कोही छैन ।’ यो शोक केबल एउटा घरमा मात्र सीमित छैन ।उक्त बाढीमा परी थपुवा गाउँका शेरसिंह रोकाय, विष्णुमती रोकाय र दीपक रोकाय पनि बेपत्ता छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ता व्यक्तिहरूको खोजीकार्य र बेपत्ता व्यक्तिका परिवारलाई आवश्यक सहयोग र समन्वयका लागि आफूहरूले काम गर्दै आएको जानकारी दिए ।बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार, रसुवाबाढीपछि बाँकेका २३ व्यक्ति हालसम्म पनि बेपत्ता छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij