नवलपुर : नारायणघाट–बुटवल सडक खण्डमा सडक विस्तारसँगै यात्रा समय घटेको छ । तर, सडक चिल्लो र फराकिलो बनेसँगै तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढेको छ । चालु आर्थिक वर्षको तीन महिना पूरा नहुँदै नवलपुरमा मात्रै नब्बे वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा उन्नाइस जनाको मृत्यु भएको छ भने एक सय पचास जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा घाइते भएकामध्ये चौबिस जनाको अवस्था गम्भीर छ । अघिल्लो आर्थिक वर्षमा नवलपुरमा एक सय सात वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा पैसट्ठी जनाको मृत्यु भएको थियो भने एक सय चार जना घाइते भएका थिए । घाइतेमध्ये साठी जनाको अवस्था गम्भीर रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार सडक विस्तारपछि तीव्र गति, लेन अनुशासनको उल्लंघन, जथाभावी बाटो काट्ने प्रवृत्ति, पुराना सवारी साधनको प्रयोग र ओभरटेक गर्ने क्रममा हुने लापरबाही दुर्घटनाका प्रमुख कारण बनेका छन् ।सडक विभागले सवारी साधनको गति नियन्त्रण गर्न सडकका विभिन्न स्थानमा होर्डिङ बोर्ड राखेको भए पनि चालकले त्यसमा उल्लेख गरिएका निर्देशन पालना नगर्दा दुर्घटनाको जोखिम कायमै रहेको प्रहरीको भनाइ छ ।पछिल्लो समय दुर्घटना गराएर सवारी साधनसहित भाग्ने अर्थात् ‘हिट एन्ड रन’का घटना पनि प्रहरीका लागि चुनौती बन्दै गएका छन् । दुर्घटनापछि चालक वा सवारी साधन फरार हुँदा पीडितले उपचार खर्च तथा क्षतिपूर्ति पाउनसमेत कठिन हुने गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।
यस्ता घटनामा संलग्न सवारी साधनको पहिचान गरी नियन्त्रणमा लिन धेरै जनशक्ति परिचालन गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए । दुर्घटना गराएर भाग्ने सवारी साधनको खोजी गर्न प्रहरी थप चनाखो हुनुपर्ने अवस्था आएको उनको भनाइ छ ।यसैबीच, जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने चार हजार नौ सय पचासी वटा सवारी साधनलाई कारबाही गरेको छ । ती कारबाहीबाट एक करोड एकचालीस लाख चौतिस हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा ट्राफिक कारबाहीबाट पाँच करोड चौरानब्बे लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
नारायणघाट–बुटवल सडक विस्तारले यात्राको समय भने उल्लेख्य रूपमा घटाएको छ । पहिले यो सडक खण्ड पार गर्न पाँचदेखि छ घण्टासम्म लाग्ने गरेकोमा अहिले करिब दुई घण्टामै यात्रा गर्न सकिने सवारी चालकहरू बताउँछन् ।सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । अहिले सडक आयोजनाले होर्डिङ बोर्ड राख्ने, सर्भिस लेन मर्मत गर्ने तथा सडकमा रङरोगन गर्ने काम गरिरहेको जनाएको छ ।सडक विस्तारपछि यात्रा सहज भए पनि तीव्र गति, ट्राफिक नियमको बेवास्ता र चालकको लापरबाही नियन्त्रण गर्न नसके दुर्घटनाको जोखिम कायमै रहने देखिएको छ । सडकको भौतिक अवस्था सुधारसँगै सुरक्षित यात्राका लागि चालकलाई नियम पालना गराउने र सडक प्रयोगकर्तामा सचेतना बढाउने चुनौती पनि उत्तिकै रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij