Logo

Oct 05 2026 | २०८३, आश्विन १९गते

भारतबाट नेपालतर्फ तस्करी हुँदै गरेको ९६० किलो चकलेटसहित ६ नेपाली पक्राउ

भारतबाट नेपालतर्फ तस्करी हुँदै गरेको ९६० किलो चकलेटसहित ६ नेपाली पक्राउ

रौतहट : भारत–नेपाल सीमामा तस्करीविरुद्धको कारबाहीका क्रममा सशस्त्र सीमा बल (एसएसबी) ले २४ बोरा चकलेटसहित ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।

बारा जिल्लासंग नाका जोडिएको सीमावर्ती भारतको नायकटोला गाउँ नजिक शनिबार साँझ एसएसबीको ७१औँ वाहिनीअन्तर्गत ई–कम्पनी बीओपी नायकटोलाको टोलीले विशेष सूचनाका आधारमा कारबाही गरेको हो।

एसएसबीका अनुसार नेपालतर्फबाट साइकलमा सामान लोड गरी भारततर्फ प्रवेश गरेर पुनः नेपालतर्फ फर्किँदै गरेका व्यक्तिमाथि निगरानी राखिएको थियो। शंकास्पद गतिविधि देखिएपछि नाकाबन्दी गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

तलासीका क्रममा ६ वटा साइकलमा लोड गरिएको २४ बोरा चकलेट बरामद भएको एसएसबीले जनाएको छ। बरामद चकलेटको कुल तौल ९६० किलो रहेको बताइएको छ।
पक्राउ पर्नेमा बाराको सीमावर्ती कलैया उपमहानगरपालिका मटिअर्वा गाउँका ४० वर्षीय राजु महतो, ४८ वर्षीय रामानन्द महतो, ४५ वर्षीय सुरेन्द्र महतो, ४७ वर्षीय रामप्रवेश मण्डल, ४५ वर्षीय महेन्द्र महतो र २२ वर्षीय विकासकुमार मण्डल रहेका छन्।

एसएसबीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ चकलेट लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेका ६ जना नेपाली नागरिक तथा बरामद चकलेट र साइकललाई थप कानुनी कारबाहीका लागि मोतिहारीस्थित भन्सार कार्यालयमा बुझाइएको एसएसबीले जनाएको छ।

सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि निगरानी तथा गस्ती थप कडा पारिएको एसएसबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट