Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भरतपुरमा ईभी कारमा आगलागी प्रकरण : सिजी मोटर्सले तिर्‍यो १२ लाख अन्तरिम क्षतिपूर्ति

भरतपुरमा ईभी कारमा आगलागी प्रकरण : सिजी मोटर्सले तिर्‍यो १२ लाख अन्तरिम क्षतिपूर्ति

काठमाडौँ : गत भदौ २६ गते बिहान चितवनको भरतपुरको महानगरपालिका-९, बसन्तचोक नजिकै भएको सिजी मोटर्सको आयोन कार दुर्घटनामा मृत्यु भएका अमर पराजुलीको परिवारलाई कम्पनीले १२ लाख अन्तरिम क्षतिपूर्ति दिएको छ । सिजी मोटर्सले अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाउँदै पीडित परिवारलाई १२ लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति दिएको हो ।जिल्ला प्रशासन कार्यालय चितवन स्रोतका अनुसार पछि कानुन बमोजिम हुन आउने दायित्व बेहोर्ने गरी तत्कालका लागि सिजी मोटर्सले १२ लाख रुपैयाँ राहत वा अन्तरिम क्षतिपूर्तिका रूपमा पीडित परिवारलाई बुझाएको हो । पछि प्राविधिक परीक्षणका कारकै कमजोरीका कारण दुर्घटना भएको पाइएमा थप क्षतिपूर्ति दिने प्रतिबद्धता समेत जनाइएको हो ।

भएको के थियो ?
गत भदौ २६ गते बिहान करिब ६ बजेको समयमा चितवनको भरतपुर महानगरपालिका-९, बसन्तचोक नजिक पूर्व-पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट भरतपुरतर्फ आउँदै गरेको कारमा एक्कासि आगलागी भएको थियो । बागमती प्रदेश-०१-०३० च ५५७९ नम्बरको जिएसी ब्रान्डको सेतो आयोन विद्युतीय कारमा अचानक आगोको झिल्को र धुवाँ देखिएको थियो । केही सेकेन्डमै उक्त झिल्को र धुवाँ आगोको लप्कामा परिणत भएको थियो । त्यसपछि उक्त कारमा सवार रहेका भरतपुर महानगरपालिका १२ का ५६ वर्षीय अमर पराजुलीको कारबाट बाहिर निस्कन नसकेर जलेरै मृत्यु भएको थियो ।घटनाको एक महिना बितिसक्दा पनि आगलागीको वास्तविक कारण अझै खुल्न सकेको छैन । पीडित परिवार र प्रहरी प्राविधिक टोलीको रिपोर्ट कुरिरहेको छ भने आयातकर्ता कम्पनी सीजी मोटर्सले ‘ब्याट्रीबाट आगलागी नभएको’ दाबी गरिरहेको छ ।यो घटनामा सबैभन्दा मर्माहत पक्ष के छ भने कारमा आगो लागेपछि चालकले ढोका खोल्न खोजेपछि कारको ढोका खुल्न सकेको थिएन । बाहिरबाट पनि कसैले ढोका खोल्न नसकेपछि कारभित्र रहेका अमरको जलेरै मृत्यु भएको थियो ।

आगो कहाँबाट सुरु भयो ?

घटनाका प्रत्यक्षदर्शी घनश्याम पौडेल र अर्का प्रत्यक्षदर्शी एक महिलाका अनुसार सुरुमा कारको पछाडिको भागबाट आगो लाग्न सुरु भएको थियो । ‘सुरुमा कारको पछाडिको भागमा मात्र आगो लागेको थियो अगाडिको भागमा थिएन; खोल्सोमा अड्किएपछि अगाडि पनि आगो फैलियो,’ उनले भनेका छन् ।पीडित परिवारका एक सदस्यले प्रत्यक्षदर्शीको एक महिलाको भनाई उद्धृत गर्दै उस्तै प्रकृतिको विवरण दिएका छन् । उक्त दिन बुवाको मुख हेर्ने औँसीसमेत परेकाले एक महिला सोही बाटो भएर उक्त गाडीको पछाडिपछाडि कतै जाँदै थिइन् । ती महिलाका अनुसार सुरुमा गाडीको पछाडिको देब्रेपट्टिको तल्लो भागमा आगोको झिल्का देखिएको थियो । त्यसपछि गाडीबाट धुवाँ आउन थालेको थियो ।प्रत्यक्षदर्शीकोले आगो दन्किरहेको अवस्थामा कार रोक्न आग्रह गरे पनि कार नियन्त्रणबाहिर गई सडकको डिभाइडरमा ठोक्किएको थियो । प्रहरीका अनुसार गाडी पूर्वबाट भरतपुरतर्फ आउँदै थियो र कोकाकोला कारखानादेखि पश्चिम करिब ५०० मिटर पर राजमार्गको मुख्य लेन नाघेर दक्षिण मोडिएको थियो ।

कारको ढोका नै खुलेको थिएन

पीडित परिवारका सदस्यका अनुसार गाडी रोकिएपछि सोही गाडीको पछिपछि अर्को सवारीसाधनमा आएकी एक महिलाले गाडी नजिक गएर ढोका खोल्न खोजेकी थिइन्, तर ढोका खुलेको थिएन । कारमा भित्रैबाट लक भएको थियो । भित्र रहेका अमर पराजुली आत्तिएका थिए गाडी भित्रसमेत धुवाँ गएको कारण उनी त्यसको केही समयमै अचेत बनेका थिए । गाडीमा बिस्तारै आगो बढ्न थालेपछि गाडी आफै गुडेको थियो र आगोसमेत लागिरहेको थियो । हारगुहार गर्दा पनि ढोका खोल्न नसकिएपछि अमरको गाडीभित्रै जलेर मृत्यु भएको थियो ।जीएसी आयोनको २०२४ वा २०२५ मोडेलको कारमा बाहिरबाट ढोका खोल्ने ह्यान्डल भए पनि त्यो अटोमेटिक हुन्छ । पहिले डिन हुने वा नदेखिने हुने र ढोका खोल्न खोज्दा मात्रै पप अप हुने वा निर्देशन दिएपछि मात्रै खुल्ने हुन्छ । त्यस कारण बाहिरबाट ढोका खोलेर उद्धार गर्न सकिएको थिएन ।अहिले युरोप लगायतका सबैजसो देशले बाहिरबाट ढोका खोल्न ह्यान्डल नभएका कारहरू विक्रीमा प्रतिबन्ध नै लगाइसकेका छन् । नेपालमा भने त्यस्ता कारहरू निर्बाध रुपमा चलिरहेका छन् ।

यो घटनाले नेपालमा समेत आधुनिक विद्युतीय सवारी साधनको सुरक्षा डिजाइनमाथि गम्भीर प्रश्न उठाएको छ । आधुनिक ईभीहरूमा विद्युतीय डोर ह्यान्डल हुन्छन् जुन सामान्यतया १२ भोल्टको लो-भोल्टेज सर्किटबाट सञ्चालन हुन्छन् । दुर्घटना वा आगलागीमा यो सर्किटमा पनि क्षति पुगेमा विद्युतीय लक खुल्न सक्दैनन् । यही कारण युरोपेली मुलुकहरूले प्रतिबन्ध लगाएपछि पछिल्लो समय कार निर्माताहरूले विद्युतीय प्रणालीबाट स्वतन्त्र मेकानिकल इमर्जेन्सी डोर लिभर राख्ने गर्छन् ।

प्रहरी प्राविधिक टोली कुर्दै, आयोनको बेवास्ता

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले गाडीको प्राविधिक पक्षको परीक्षण गर्नुपर्ने भएकाले विज्ञ टोलीको प्रतीक्षामा रहेको दियोपोस्टलाई बताए ।पौडेलका अनुसार उक्त गाडी दुर्घटनाका सम्बन्धमा निर्माता कम्पनी जिएसी आयोनबाटै प्राविधिकहरू नेपालमा आउने भनेकाले आफूहरू उनीहरूको प्रतीक्षामा रहेको बताए । उनीहरू आएपछि नेपालकै प्राविधिकहरूसमेत राखेर अनुसन्धान गर्ने र प्रतिवेदनका आधारमा अगाडि बढ्ने उनले बताए । पीडित परिवारले घटनाको निष्पक्ष छानबिन माग गर्दै जुन पक्ष दोषी देखिन्छ उक्त पक्षलाई कारबाही र क्षतिपूर्तिको समेत माग गरी जाहेरी दिएका छन् ।

चितवन प्रहरीले आयातकर्ता कम्पनी सिजी मोटर्ससँग सामान्य सोधपुछ र कुराकानी गरेको थियो । त्यसपछि प्रहरीकै समन्वयमा आयातकर्ता सिजी मोटर्स र पीडित परिवारबिच छलफल गराइदिएको थियो ।

अनुसन्धानबिनै सिजीको दाबी, आगलागी ब्याट्रीका कारण भएको होइन

यता दुर्घटना लगत्तै सिजी मोटर्सले एक विज्ञप्ति जारी गर्दै कारमा आगलागीको कारणमा ब्याट्री सर्ट भएको नपाइएको दाबी गरेको थियो ।सिजी मोटर्सका कर्पोरेट कम्युनिकेसन तथा पब्लिक रिलेसन जनरल म्यानेजर मधुसूदन पौडेलले कम्पनीको प्राविधिक टोलीको भएको प्रारम्भिक अध्ययनमा आगलागी ब्याट्रीबाट सुरु नभएको संकेत पाइएको बताएका थिए । विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा पौडेलले आगलागी ब्याट्रीबाट नभएको जिकिर गरेका थि । उनले भनेका छन्, ‘धेरैजसो ईभी आगलागी संसारभर ब्याट्रीबाट सुरु हुने गरेको छ । ब्याट्री गाडीको तल हुन्छ । तर चितवनको घटनामा आगो चालकको विपरीत सिटको पछाडिको भागबाट सुरु भएको देखिन्छ । हाम्रो प्राविधिक टोली गाडीको खराबीका कारण आगो लाग्यो भन्नेमा विश्वस्त छैन । त्यस क्षेत्रमा आगो लागेको भए चालकलाई भाग्न केही सेकेन्डको मौका हुनुपर्ने थियो । तर गाडी रोकिएन र निस्कने प्रयास पनि भएको देखिँदैन ।’

यसअघि चीनमा पनि जीएसी आयोनका केही कार गुडिरहेको अवस्थामा आगलागी भएका घटना बाहिर आएका थिए, जहाँ ब्याट्री सेल फुल्ने, लिकेज हुने र पावर सिस्टममा गडबडी देखिने जस्ता समस्या औँल्याइएको थियो । तर विज्ञहरूका अनुसार ब्याट्री आगलागी निकै दुर्लभ घटना हो । अस्ट्रेलियाली रक्षा मन्त्रालयको सहयोगमा सञ्चालित ईभी फायरसेफका अनुसार सन् २०१० देखि २०२४ सम्म विश्वभर सञ्चालनमा रहेका ४ करोडभन्दा बढी ईभीमध्ये जम्मा ५११ वटा ब्याट्री आगलागी पुष्टि भएका छन् ।

१२ लाखको अन्तरिम क्षतिपूर्ति : दबाउने रणनीति कि जिम्मेवारी स्वीकार ?

मृतकका परिवारले अदालत जाने चेतावनी दिएपछि सीजी मोटर्सले अन्तरिम क्षतिपूर्तिका रूपमा १२ लाख रुपैयाँ दिएको छ । परिवारका एक सदस्यका अनुसार कम्पनीले १२ लाख क्षतिपूर्ति दिएर तत्कालका लागि हल्ला नगरिदिन आग्रह गर्दै पछि मेकानिकल वा टेक्निकल फेलिएर देखिए थप क्षतिपूर्ति दिने जनाएको छ । त्यसबाहेक सिजी मोटर्सले किस्ताबापत तिर्न बाँकी रहेको ५ लाख ५० हजार रुपैयाँ पनि छुट दिएको जनाएको छ ।कम्पनीले गाडीको कारण नै दुर्घटना भएको हो भने कम्पनीबाटै क्षतिपूर्ति प्राप्त हुने र उक्त क्षतिपूर्ति पीडित परिवारलाई दिने प्रतिबद्धता समेत जनाएको परिवारका एक सदस्यले दियोपोस्टलाई बताए । यद्यपि परिवारका सदस्यहरू भने उचित सम्बोधन नगरिए कानुनी लडाइँमा जाने बताउँदै छन् । तर पहिले चीनबाट नै प्राविधिक ल्याएर अनुसन्धान गर्ने भनेकाले उनीहरू त्यही अनुसन्धान र प्रतिवेदनको प्रतीक्षा गरिरहेका बताउँछन् ।

सिजी मोटर्सले भदौ ३० गते जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘यस्ता दुर्घटनाहरूमा सरकारी निकायको अनुसन्धानलाई सहयोग पुर्‍याउनु र धैर्यतापूर्वक प्रतीक्षा गर्नु हाम्रो कर्तव्य हुन आउँछ । भरतपुरमा आगलागी भएको गाडीको निर्माता कम्पनीले पनि उक्त गाडीको परीक्षण, अनुसन्धान गरी अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने नै छ । यस प्रकारका दुर्घटनाहरूको अनुसन्धान गर्ने विश्वव्यापी प्रोटोकल अनुसार अनुसन्धान भई सत्य तथ्य बाहिर आउनेछ भन्नेमा हामी विश्वस्त हुनु पर्दछ ।’

थप छानबिनका लागि के हुँदै छ ?

प्रहरीका अनुसार अब प्राविधिक टोलीको रिपोर्ट आउने बित्तिकै आगलागीको मुख्य कारण खुल्नेछ । रिपोर्ट आएपछि गाडीको ब्याट्री, इलेकट्रिकल सिस्टम, वायरिङ र अन्य सम्भावित कारणहरूको विस्तृत विश्लेषण गरिनेछ । साथै, निर्माता कम्पनीको प्राविधिक टोलीले पनि छुट्टै परीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट