काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबारदेखि लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । चाडपर्वलाई लक्षित गर्दै यात्रुको सहजताका लागि महासंघले अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’ले शुक्रबार बिहानदेखि यात्रुले टिकट बुकिङ गर्न सक्ने जानकारी दिए । चाडपर्वमा हुन सक्ने भिडभाड तथा यात्रु ठगिने प्रवृत्तिलाई व्यवस्थापन गर्न महासंघले सम्पूर्ण तयारी पूरा गरेको उनले बताए ।
अग्रिम टिकट काट्दा यात्रुले तीनवटा विषयमा विशेष ध्यान दिनुपर्ने अध्यक्ष सिटौलाले बताए । उनका अनुसार आफू जाने गन्तव्य, यात्रा गर्ने मिति र समय तथा सिट नम्बर यकिन गरेर मात्रै टिकट लिनुपर्छ ।‘यात्रुहरूले टिकट काट्दा आफ्नो गन्तव्य, मिति र सिट नम्बरमा स्पष्ट भएर मात्र लिनुपर्छ । अनलाइन वा काउन्टर जहाँबाट टिकट लिँदा पनि यी विवरण अनिवार्य रूपमा रुजु गर्नुहोला,’ उनले भने ।
महासंघले टिकट बुकिङका क्रममा हुन सक्ने कालोबजारी रोक्न कडा निगरानी गरिने जनाएको छ । तोकिएको भाडादरभन्दा बढी लिने वा टिकट लुकाएर कालोबजारी गर्ने कार्य भेटिएमा कडा कारबाही हुने अध्यक्ष सिटौलाले चेतावनी दिए ।यात्रुलाई भिडभाडमा नपरी आधिकारिक काउन्टर वा अनलाइन माध्यमबाट मात्रै टिकट लिन महासंघले आग्रह गरेको छ । चाडपर्वको समयमा सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न व्यवसायीलाई पनि सवारीसाधनको अवस्था र चालकको सावधानीमा ध्यान दिन महासंघले निर्देशन दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij