Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

त्रिविका हरेक संकायको नतिजा एक महिनाभित्र निकाल्न शिक्षामन्त्रीको निर्देशन

त्रिविका हरेक संकायको नतिजा एक महिनाभित्र निकाल्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका परीक्षा नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन्।त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसको बैठकमा त्रिविका सहकुलपतिसमेत रहेका मन्त्री पोखरेलले मन्त्रालयमा परीक्षा र नतिजा समयमा सार्वजनिक नभएको गुनासो आउने गरेको भन्दै छिटो नतिजा सार्वजनिक गर्न निर्देशन दिएका हुन्।

‘एक महिनाभित्र नतिजा ल्याउन कुलपति प्रधानमन्त्रीको पनि निर्देशन छ,’ उनले भने।मन्त्री पोखरेलले विश्वविद्यालयले शैक्षिक क्यालेन्डर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। विश्वविद्यालयको अधिकार विकेन्द्रीकरण गर्न सके काम अझ प्रभावकारी हुने उनको भनाइ थियो।
‘विकेन्द्रीकरण गर्न सकियो भने अझ प्रभावकारी हुन्छ,’ उनले भने।

उनले अन्य प्रदेशमा समेत दीक्षान्त समारोह आयोजना गर्नुपर्ने बताए। शिक्षा सुधार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले विश्वविद्यालयलाई अनुसन्धान र नीति निर्माणमा थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।‘शिक्षा सुधार गर्न लागेका छौँ। तर विश्वविद्यालय र विद्यालयको फरक छुट्याउन सकेका छैनौँ। विश्वविद्यालय थिङ्क ट्यांक हो,’ उनले भने, ‘शिक्षा ऐन बनाइरहेका छौँ। पाठ्यक्रम रिफर्मको काम गरिरहेका छौँ। शिक्षा नीति नयाँ बनाउने क्रममा छौँ। यसमा विश्वविद्यालयको भूमिका बढी हुनुपर्छ।’मन्त्री पोखरेलले त्रिविका आंगिक क्याम्पसको पूर्वाधार विकास तथा विदेशी विद्यार्थी आकर्षित गर्ने योजना अघि बढाउन आग्रह गरे। उनले पारदर्शी विश्वविद्यालय, डिजिटल प्रणाली, जीवनोपयोगी शिक्षा र अनुसन्धानमैत्री विश्वविद्यालय निर्माणमा जोड दिए।

यसअघिका त्रिवि सभामा कुलपति एवं प्रधानमन्त्रीले अध्यक्षता गर्दै आएका थिए। तर यसपटक कुलपतिको अनुपस्थितिमा सहकुलपति पोखरेलले त्रिवि सभाको अध्यक्षता गरेका हुन्।यसैबीच त्रिवि सभाको ६७ औँ वार्षिक दिवस बैठकले ६४ औँ ग्रेस लिस्ट पारित गर्दैचालु वर्ष स्नातकदेखि विद्यावारिधिसम्मका ९५ हजार ५ सय ४० जना विद्यार्थीलाई दीक्षित गराउने भएको छ। २०८२ असार १ गतेदेखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू यस पटकको समारोहमा दीक्षित हुने बताइएको छ । 

​ग्रेस लिस्टमा अटाएका र आज उपाधि प्रदान गर्न अनुमति पाएका विद्यार्थीहरूका लागि आगामी २०८३ साल पौष महिनामा मूल दीक्षान्त समारोह काठमाडौंमा आयोजना गरिने जानकारी दिइएको छ। साथै, उक्त दीक्षान्त कार्यक्रमलाई देशका सातै वटा प्रदेशमा समेत आयोजना गर्ने गरी आवश्यक तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij