Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्रीजन्य वस्तुको आयात रोक्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र

भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्रीजन्य वस्तुको आयात रोक्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र

नेपालगञ्ज : भारतीय सीमा नाकाबाट नेपाल भित्रिने अवैध पोल्ट्रीजन्य वस्तुको आयात नियन्त्रण गर्न नेपाल ह्याचरी उद्योग संघले सीमा क्षेत्रमा आफ्नो सक्रियता बढाएको छ । संघले चल्ला, कुखुरा, मासु तथा अण्डाको अवैध आयात रोक्न सुरक्षा निकाय तथा सम्बन्धित जिल्लाका व्यवसायीसँग प्रत्यक्ष छलफललाई तीव्र बनाएको हो ।

यसैक्रममा संघको प्रतिनिधिमण्डलले बुधबार बाँकेको नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरीका प्रमुख तथा बीओपी खडैचाका प्रमुखसँग भेटघाट गरेको छ । भेटमा भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्रीजन्य वस्तुको ओसारपसार नियन्त्रण, सीमा क्षेत्रमा निगरानी तथा सुरक्षा संयन्त्रबीचको समन्वयका विषयमा छलफल भएको संघले जनाएको छ ।

केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेको नेतृत्वमा पुगेको टोलीमा उपाध्यक्ष ज्ञानबहादुर बिसुराल, कोषाध्यक्ष परशुराम अधिकारी, सचिव विवेक भट्ट र सदस्य हरिकृष्ण खनाल सहभागी थिए । प्रतिनिधिमण्डलले सीमा क्षेत्रमा अवैध रूपमा पोल्ट्रीजन्य वस्तु भित्रिँदा स्वदेशी व्यवसायमा परेको असरबारे सुरक्षा अधिकारीलाई जानकारी गराएको थियो ।

संघका अनुसार अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य वस्तुले स्वदेशी व्यवसायलाई प्रतिस्पर्धामा कमजोर बनाउनुका साथै पशुपन्छीमा लाग्ने रोग फैलिने जोखिमसमेत बढाउँछ । त्यस्तै, गैरकानुनी आयातका कारण राज्यले प्राप्त गर्ने राजस्वमा समेत असर पर्ने संघको भनाइ छ ।

भेटका क्रममा सशस्त्र प्रहरीका अधिकारीहरूले सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रणका लागि निगरानी तथा आवश्यक सुरक्षा कारबाहीलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको संघले जनाएको छ ।

संघका उपाध्यक्ष ज्ञानबहादुर बिसुरालले बाँकेमा भएको छलफललाई अभियानकै महत्वपूर्ण चरणका रूपमा लिएको बताउनुभयो । उहाँका अनुसार संघको टोलीले बुधबार नै दाङका पोल्ट्री व्यवसायीसँग छलफल गर्ने र कपिलवस्तुमा प्रहरी नायव उपरीक्षकसँग भेटघाट गर्ने कार्यक्रमसमेत तय गरेको छ ।

संघले यसअघि नवलपरासी र रुपन्देहीबाट सीमा क्षेत्रको अनुगमन तथा सुरक्षा निकायसँग भेटघाट सुरु गरेको थियो । अभियानलाई क्रमशः अन्य सीमावर्ती जिल्लामा समेत विस्तार गरिने जनाएको छ ।

भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रणका लागि सुरक्षा निकाय मात्र नभई स्थानीय प्रशासन, व्यवसायी तथा सम्बन्धित सरोकारवाला निकायबीच निरन्तर समन्वय आवश्यक रहेको संघको निष्कर्ष छ । संघले सीमा क्षेत्रमा निगरानी बढाउन र अवैध आयात रोक्न सम्बन्धित निकायसँग सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij