म्याग्दी : पछिल्लो एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडक मर्मतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ । हाल चीनसँग सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका पनि वर्षाका कारण बेनी-जोमसोम-कोरला क्षतिग्रस्त भएपछि स्तरोन्नतिका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको हो ।
सडक मर्मतमा प्रयोग भएका उपकरणका लागि इन्धन अभाव भएपछि नेपाली सेनाको सहयोगमा आज ड्रोनबाट डिजेल ढुवानी गरिएको हो । रघुगङ्गा गाउँपालिका-२ कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब २५० मिटर सडक कटान गरेको छ । सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेको छ ।
बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार बेनीबाट सवारीसाधनमा कुनौटासम्म लगिएको डिजेल ड्रोनको सहायताले कटान क्षेत्र पार गराइएको हो । “मानिसले बोकेर लैजान सम्भव नभएपछि ड्रोनको प्रयोग गरेका हौँ”, उनले भने, “६ पटकको उडानबाट ४०० लिटर डिजेल कटान क्षेत्र पार गराइएको छ ।” उनका अनुसार कुनौटाबाट सेनाको टोलीले डिजेल अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्म पुर्याएको छ ।
शत्रुभञ्जन गुल्मका सेनानी राकेश बस्नेतले काठमाडौँबाट आएका प्राविधिक जनशक्तिको सहयोगमा ड्रोनमार्फत डिजेल ढुवानी गरिएको बताए। कुनौटामा एक पटकमा १२० लिटरका दरले डिजेल ढुवानी गरिएको उनले जानकारी दिए । सेनाले यसअघि रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गर्न पनि ड्रोन प्रयोग गरेको थियो । रघुगङ्गा-३ तिल्केनीचौरबाट बैसरीसम्म डिजेल ढुवानी गर्न शनिबार पनि नेपाली सेना र स्वयंसेवकले सहयोग गरेका थिए ।
कालीगण्डकीको बाढी र कटानबाट क्षतिग्रस्त सडक मर्मतमा करिब २० वटा डोजर र सयौँ मजदुर परिचालन भएका छन् । पोखरेबगर, रातोपानी, घिरच्याङ, महभिर, भिरकाटे, राहुपारे र तिल्केनीचौरमा सडक मर्मत भइरहेको आयोजना प्रमुख शर्माले उल्लेख गरे । “पोखरेबगर सडक पुलको पहुँचमार्गसमेत मर्मत भइरहेको छ। सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन समानान्तर रूपमा काम गरिरहेका छन्”, उनले भने ।
पर्वतको मालढुङ्गाबाट चीनको सीमावर्ती कोरला नाकासम्म सडकको दूरी २०२ किलोमिटर छ । म्याग्दीको कुनौटा-पोखरेबगर क्षेत्रमा करिब १२ किमी सडक मर्मत गर्न बाँकी छ । अन्य स्थानमा मर्मतपछि एकतर्फी रूपमा हलुका सवारीसाधन सञ्चालन हुन थालेका छन् ।
सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले यसै साताभित्र सडक मर्मत सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताए । रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्त्वपूर्ण बनेको उनले बताए । कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ ।
मुस्ताङको स्याउ बजार पठाउने समय पनि सुरु भएको छ । दसैँ-तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय यामसमेत सुरु भएकाले बेनी-जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij