चितवन : यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले बगाएको राइनो क्रुज हालसम्म निकाल्न सकिएको छैन । क्रुज नारायणी नदीले बगाएर तीन सय मिटर टाढा नारायणीको पुलमुनि पिलरमा ठोक्किएर अड्किएको थियो ।क्रुजका कारण पुलमा असर पर्ने भन्दै तत्कालै झिक्ने प्रयास गरिए पनि हालसम्म सम्भव भएको छैन । जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय चितवन, गैँडाकोट नगरपालिकालगायत निकायको सक्रियतामा तीन वटा क्रेनको सहायतामा क्रुज तान्ने प्रयास गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
क्रुजलाई तानेर पिलरबाट छुटाई पल्टाएर राखिएको जनाउँदै क्रुज सञ्चालन गरेको राइनो वाटर इन्टरटेन्टमेन्टका अध्यक्ष दीपक ढुङ्गेलले त्यहाँबाट बाहिर निकाल्न नसकिएको बताए। उनका अनुसार अहिले पनि क्रुजको ३३ प्रतिशत भाग पानीमुनि छ। क्रुजका ठुला इञ्जिनहरू पानीमा डुबेको अवस्थामा छन् ।
अहिले क्रुजका कारण पुललाई कुनै क्षति नहुने भएकाले पानी घटेपछि बाहिर निकाल्ने योजना बनाइएको ढुङ्गेलले जानकारी दिए। उनले भने, “पानी घटेपछि बाटो बनाएर अन्य उपकरणको प्रयोगले तानेर बाहिर लैजाने प्रयास गर्नेछौँ । अहिले क्रुज भित्तामा टाँसिएको छ । टुचिन लगाएर एङ्कर गाडेर अड्याइएको छ ।”
क्रुज सञ्चालन गरेको कम्पनीका तर्फबाट आफूले गृह, पर्यटन मन्त्रालयलगायत सरकारी निकायमा यसको जानकारी औपचारिक रूपमा गराएको अध्यक्ष ढुङ्गेलले बताउनुभयो । भरतपुरको काभ्रेघाटमा तटबन्धन गरेर सञ्चालन गरिएकामा यहाँ असहज भएपछि नवलपरासीको गैँडाकोटबाट सञ्चालन हुँदै आएको थियो।
ढुङ्गेलका अनुसार ठाउँसार गरी गैँडाकोटको नदीमा क्रुज सञ्चालन गरिएकामा वर्षासँगै असारदेखि नदी किनारमा राखिएको थियो । उनले क्रुज सञ्चालनका लागि ३० जनाले रु १५ करोड लगानी गरेको बताए । उनले भने, “बाढीले बगाएपछि यो क्रुज सञ्चालन गर्न सक्ने अवस्थामा छैन । यसबाट रु १० करोडभन्दा बढी नोक्सान भएको छ।”
समूहगत लगानीमा रहेकाले अब के गर्ने भन्ने बारेमा छलफल गरिने ढुङ्गेलले बताए। विपद्का कारण क्षतिग्रस्त भएकाले सरकारी निकायबाट आवश्यक सहयोग पाउनेमा आफूहरू विश्वस्त रहेको उनले बताए। यस्तो क्रुज नेपालमा नभएकाले बीमा प्राधिकरणसँग पनि योजना नहुँदा बीमा गर्न नसकिएको उनको भनाइ छ।
सरकारको गौरवको आयोजना भएकाले यसलाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न सरकारी सहयोग आवश्यक पर्ने अध्यक्ष ढुङ्गेलले उल्लेख गरे। कम्पनीले १५० जना यात्रुलाई देवघाटबाट गोलाघाटसम्म ४० किलोमिटर जलयात्रा गराउन पाउने गरी पर्यटन विभागबाट अनुमति लिएको उनले जानकारी दिए।
यो क्रुज ९५ फिट लामो र २१ फिट चौडा छ। साढे दुई तलाको क्रुजमा १५० जनाले एकैपटक सेवा लिन सक्ने ढुङ्गेलले जानकारी दिए। क्रुजमा खाजा, बिहानको खाना, बेलुकाको खानाका साथै विवाह, व्रतबन्ध, पास्नी र जन्मोत्सव जस्ता शुभ कार्य गर्ने गरिएको थियो। पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले परियोजना सञ्चालनमा ल्याइएको उनले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij