रक्सी पिएपछि मान्छे उस्तै हुँदैन, जो अरुबेला (सामान्य स्थिति) मा हुन्छ । अलि बढी बोल्न (कोही कम पनि) थाल्छन् । बोल्दा जिब्रो लर्बराउँछ । गाला वा आँखा रातो हुन थाल्छ । हिंड्दा खुट्टाको सन्तुलन बिग्रन्छ ।
रक्सीले मान्छेको शरीरमा त्यस्तो के गर्छ, जसले उसको चालढाल नै परिवर्तन हुन्छ ?
यसलाई हामी विस्तारमा बुझौं :
जब हामी रक्सी पिउँछौं त्यो खाद्यनली हुँदै आमाशय (पेट) मा सोसिएर कलेजोमा पुग्छ । कलेजो हाम्रो शरीरको यस्तो अङ्ग हो, जसले पाचन क्रियामा सघाउनेदेखि शरीरका विषाक्त पदार्थ अलग गर्नेसम्मको काम गर्छ । रक्सीमा भएको विषाक्त पदार्थ पनि शरीरको अन्य भागमा नजाओस् भनेर कलेजोले त्यसलाई छान्छ ।
कलेजोमा रहेको ‘अल्कोहल डिहाइड्रोजिनेज’ इन्जाइमले रक्सीलाई मेटाबोलाइज गर्छ । मोटाबोलाइज भनेको पचाउने प्रक्रिया हो । रक्सीलाई मेटाबोलाइज गर्ने क्रममा यसमा भएको ‘एसिटल्डिहाइड’ भन्ने रसायनलाई टुक्राएर एसिटेट नामक रसायनमा बदलिदिन्छ । यो एसिटेट फेरि कार्बन डाईअक्साइड र पानीमा बदलिएर शरीरबाट बाहिरिन्छ । तर अत्यधिक मात्रामा रक्सी सेवनका कारण ‘एसिटल्डिहाइड’ को मात्रा धेरै भयो भने त्यसले कलेजोको कोषहरूलाई बिगार्न थाल्छ ।
रक्सीलाई मेटाबोलाइज गर्ने क्रममा प्यान्क्रियाजको पनि भूमिका हुन्छ । यस्तोमा रक्सीमा भएको रसायनले प्यान्क्रियाजको कोषहरूलाई पनि हानि गर्छ । त्यस्तै सानो आन्द्रा र सम्पूर्ण पाचन प्रणालीमा समस्या निम्त्याउन सक्छ । त्यसैगरी रक्सी पिएपछि त्यसले स्नायु प्रणाली र खासगरी मस्तिष्कलाई असर गर्छ ।
जति पियो, उत्ति पिउन मन लाग्ने
अल्कोहल प्रयोग गर्दै जाँदा बिस्तारै सुरुवातीमा भन्दा यसको मात्रा बढी लिने बानी पर्छ । यसको अर्थ शरीर बढी रक्सी पिउन अनुकूल हुँदै गइरहेको हुन्छ । अर्थात् शरीरका अङ्गहरूमा अल्कोहलको प्रभाव क्रमशः कम हुँदै जान्छ ।
अत्यधिक रक्सी सेवन गर्यो भने त अल्कोहल विषाक्त नै हुन्छ । अल्कोहल विषाक्तताले बान्ता आउने, निद्रा नलाग्ने, बेहोस, अचेत हुने, रगतमा चिनीको मात्र एकदम घट्ने वा बढ्ने, शरीरको तापक्रम एकदम घट्ने एवं कुनै कुनै बेला अत्यधिक मातेकै अवस्थामा व्यक्तिको ज्यानै जान सक्छ ।
के गर्छ हानि ?
लगातार धेरै मात्रामा रक्सी पिउने व्यक्तिहरूको कलेजो सुक्न थाल्छ र लिभर सिरोसिस हुन्छ । लिभर सिरोसिस हुने मुख्य कारण रक्सी नै हो । कलेजो खराब भएर विषाक्त पदार्थ छान्न सक्दैन र त्यो विषाक्त पदार्थ शरीरभरि फैलिन थाल्छ । कलेजो सुकेपछि त्यसको रक्तनलीहरु सुनिन्छन् र पेटमा पानी भरिन थाल्ने, खाद्यनलीका रक्तनलीहरू फुल्ने र रगतको उल्टी हुने लगायतका समस्या निम्तिन सक्छ ।
प्यान्क्रियाज गन्थ्रिले हाम्रो पाचन प्रणालीलाई सहयोग गर्छ र शरीरमा सुगरको मात्रा सन्तुलन गर्छ । खानेकुरा पाचनपछि बनेको ग्लुकोज शारीरिक कोषमा पुर्याउन आवश्यक इन्सुलिन पैदा गर्ने काम यसले नै गर्छ । तर, जब लामो समय रक्सी सेवन गरिन्छ त्यसले प्यान्क्रियाजलाई हानि गर्छ र ‘एक्यूट प्यान्क्रियाटाइटिस’ (प्यान्क्रियाज सुन्निने समस्या) निम्त्याउन सक्छ । यस्तो समस्या भएमा पाचन प्रणालीमा समस्या हुने, इन्सुलिन पैदा नभएर सुगरको मात्रा बढ्ने लगायतका अन्य विभिन्न समस्या निम्तिन्छ ।
लामो समयदेखि ग्यास्ट्राईटिसको समस्या भएको व्यक्तिले रक्सी सेवन गर्दा पेट, आमाशय र आन्द्रामा तत्कालीन र दीर्घकालीन रूपमा धेरै समस्या निम्तिन सक्छ । त्यति मात्र हैन लामो समय रक्सी सेवन गर्दा मुख, घाँटी, खाद्यनली, ठूलो आन्द्रा, कलेजो र प्यान्क्रियाज लगायतको क्यान्सर निम्तिन सक्छ ।
रक्सी नखाएको राम्रो, खानै परे कति खाने ?
चिकित्सा विज्ञानले चुरोट स्वास्थ्यका लागि खानै हुँदैन भन्छ । तर रक्सीको हकमा कम खानु मात्रै भन्छ । थोरै खानु भनिरहँदा कति खाने त भन्ने प्रश्न धेरैको मनमा उठ्न सक्छ । रक्सी कति खाने भनेर मात्राको कुरा गरिरहँदा कति खाने भन्दा पहिले कसले खाने भन्ने कुरा बुझ्न जरुरी छ । पुरुष, महिला, गर्भवती महिला कसले खान आँटेको हो, रक्सी सेवन गर्ने व्यक्तिमा पहिलेदेखि मुटु, मिर्गौला, कलेजो, प्यान्क्रियाज, मानसिक अस्वस्थ लगायत अन्य दीर्घरोग छ कि छैन भन्ने कुराले रक्सी खाने कि नखाने भन्ने कुरा तय गर्छ ।
एक लिटर ह्विस्कीमा ४० प्रतिशत अल्कोहल हुन्छ । त्यसको मतलब ४ सय एमएल अर्थात् १ लिटर ह्विस्कीमा ४ सय ग्राम शुद्ध अल्कोहल हुन्छ ।
६५ वर्ष भन्दा कम उमेरका एउटा स्वस्थ्य व्यक्तिले १० ग्राम देखि २० ग्राम अल्कोहल दैनिक सेवन गर्दा त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्दैन भनेर विभिन्न निर्देशिकाहरुमा उल्लेख छ । दैनिक रुपमा एक स्वस्थ्य पुरुषले ३० एमएल ह्विस्की, बियरको कुरा गर्दा एकदिनमा धेरैमा एक क्यान (५ सय एमएल) बियर र एक ग्लास वाइन खान मिल्छ । महिलामा यो मात्रा आधा नै कम हुनुपर्छ । पहिलेदेखि मिर्गौला, कलेजो, प्यान्क्रियाज र ग्यास्ट्राइटिस लगायतको समस्या भएको व्यक्तिहरूले भने रक्सी पिउनुहुँदैन ।
मेडिकल जर्नल ‘द ल्यान्सेट’ प्रकाशित अध्ययन अनुसार कुनै पनि रक्सी वा (वाइन) को कुनै पनि मात्रा सेवन गर्नु हानिकारक हुन्छ । यस अनुसार रक्सीको सुरक्षित मात्रा नै छैन । तर यसो भनी रहँदा हाम्रो भोजभतेर, चाडपर्व तथा साथीभाइ जमघट हुँदा रक्सी सेवन गर्छौं । यस्तो अवस्थामा कति रक्सी सेवन गर्नु चाहिं सुरक्षित हुन्छ भन्ने अवस्थामा भने हामी माथि उल्लेखित मात्रा अनुसार सेवन गर्नु राम्रो हुन्छ ।
कसै कसैको बानी फेरि दैनिक नखाने तर हप्तामा एक पटक एकदमै धेरै मात्रामा रक्सी पिउने बानी हुन्छ । रक्सीसँगै चुरोट र स्न्याक पनि खाने बानी हुन्छ ।
रातभर बसेर रक्सी खाने अनि त्यससँग धेरैजसो मासुजन्य परिकार सितनको रुपमा हुन्छ । त्यो पनि तारेको, भुटेको मासु । यसबाहेक दालमोठ, चिप्स पनि अनिवार्य जस्तै हुन्छ । त्यसैले रक्सीसँगै चुरोट पनि खाँदा भने यसले शरीरलाई झन् धेरै हानि गर्छ । मासुले कोलेस्टेरोल बढाउँछ, रक्सीले कलेजो र मुटुलाई हानि गर्छ, चुरोटले त सबैभन्दा बढी हानि गर्छ । त्यसैले यी तीन चिज एकैचोटि खानु सबैभन्दा खतरनाक हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij