Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

बालबालिका, किशोर-किशोरी र महिलामा पोषण कमीबारे अध्ययन गर्दै सरकार

बालबालिका, किशोर-किशोरी र महिलामा पोषण कमीबारे अध्ययन गर्दै सरकार

काठमाडौँ :  सरकारले बालबालिका, महिला तथा किशोर किशोरीमा पोषण अवस्थाबारे अध्ययन गर्ने भएको छ। 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको अगुवाइमा नेपालमा बालबालिका, किशोरकिशोरी तथा महिलालगायत विभिन्न उमेर समूहका पोषण अवस्था र शरीरमा आवश्यक सूक्ष्म पोषक तत्त्वको उपलब्धता मूल्याङ्कन गर्न ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण’ गर्न लागेको हो।

यो सर्वेक्षणले बालबालिका, किशोर-किशोरी र महिलाहरूमा पोषणको अवस्था पत्ता लाग्ने र सोही अनुसार स्वास्थ्यका कार्यक्रम तर्जुमा गर्न प्राथामिकतामा पर्ने मन्त्रालयले जनाएको छ।

विशेषगरी यो पोषण सर्वेक्षणमा बालबालिका, किशोर-किशोरी र महिलाहरुको शरीरमा भिटामिन ‘ए’, भिटामिन ‘बी १२’, आइरन, आयोडिन, जिङ्क र फोलिडलगायत शरीरका लागि आवश्यक सूक्ष्म पोषक तत्त्वको अवस्था परीक्षण गरिनेछ।

यसका साथै रक्तअल्पता र संक्रमणसँग सम्बन्धित सूचक, शारीरिक वृद्धि तथा पोषण अवस्था र प्रमुख पोषण कार्यक्रमको पहुँच एवं सेवाग्राहीको पालना अवस्थासमेत अध्ययन गरिनेछ।

सर्वेक्षण २०२७ मार्चसम्म देशभरका सातै प्रदेश र हिमाल, पहाड तथा तराई गरी तीनवटै भौगोलिक क्षेत्रमा सञ्चालन हुनेछ।

यसका लागि २८० वटा क्लस्टर छनोट गरी ८ हजार ४०० घरपरिवारका करिब १२ हजार २३६ व्यक्तिलाई समेटिनेछ।

सर्वेक्षणमा घरमूली, १५ देखि ४९ वर्ष उमेर समूहका महिला, १० देखि १९ वर्षका किशोरकिशोरी तथा ६ देखि ९ वर्ष र ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था अध्ययन गरिनेछ। गर्भवती महिलालाई समेत सर्वेक्षणमा समावेश गरिनेछ।

सर्वेक्षणका लागि गुणस्तर नियन्त्रक, तथ्यांक संकलक, सुपरिवेक्षक, अन्तर्वार्ताकार, रक्त नमुना संकलक, प्रयोगशाला प्राविधिक तथा नमुना ढुवानीमा संलग्न गरी २०५ जना जनशक्ति परिचालन गरिनेछ।

उनीहरूका लागि यही नोभेम्बर १७ देखि २८ सम्म तालिम सञ्चालन गरिनेछ। सरकारले पोषण सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नयाँ सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले ती कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न तथा आगामी दिनमा पोषणसम्बन्धी नीति, योजना र कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसअघि राष्ट्रिय तथ्यांक कार्यालयको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रतिवेदनले  ५ वर्षमुनिका बालबालिकामध्ये ३१.५ प्रतिशत पुड्कोपन र २४.३ प्रतिशत तौल कमी (लिखुरेपन) को समस्यामा रहेको देखाएको थियो।

यसमा मधेश प्रदेशमा तौल कमी भएका बालबालिकाको प्रतिशत सबैभन्दा बढी ३३.२ रहेको छ भने सबैभन्दा कम बाग्मतीमा ९.६ प्रतिशत रहेको छ। यस्तै ६ महिनासम्म आमाको दूध मात्र खुवाउने दर ६९.७ प्रतिशत रहेको छ भने १२–२३ महिनाका बालबालिकामध्ये ८०.७ प्रतिशतले मात्र सबै खोप पूरा गरेका छन्।

आधारभूत विद्यालय कक्षा (१-५) को १ कक्षामा प्रवेश गर्ने उमेरका बालबालिकाहरू ४१.२ प्रतिशत रहेको छ। ८५.४ प्रतिशत ५ वर्षमुनिका बालबालिकाहरूको जन्मदर्ता गरिएको सर्वेक्षणले देखाएको थियो।

पाँच-पाँच वर्षमा स्वास्थ्य मन्त्रालयले गर्ने जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को रिपोर्टले हाल नेपालमा जन्मिएका पाँच वर्षमुनिका ४३ प्रतिशत बालबालिकामा एनेमियाको समस्या रहेको देखाएको थियो।

यति मात्रै नभएर विगत हाल नेपालमा रहेका १० देखि १९ वर्षमुनिका किशोरकिशोरीमा पनि पर्याप्त मात्रामा पोषण अभाव रहेको देखाएको छ। रिपोर्टले १० देखि १९ वर्षका किशोरकिशोरीमा २५ प्रतिशतमा उमेर अनुसारको तौल नभएको (दुब्लोपना) को समस्या समेत देखाएको थियो।

बदलिदो जीवनशैली, जंक फुड खानेबानीले बालबालिका, किशोर उमेर समूहका व्यक्तिहरुमा मात्रै नभएर सबै उमेर समूहका व्यक्तिहरूमा पोषण नपुग्ने समस्या रहेको वेला-वेलामा सरकारले नै गर्दै आएको सर्वेक्षणहरूले देखाउँदै आएको छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार  बदलिँदो जीवनशैलीका कारण पछिल्लो समयमा बालबालिका, किशोरकिशोरी तथा अन्य उमेर समूहमा उमेर अनुसार शरीरमा आवश्यक पोषण घट्दै गएको देखिएको हो।

किशोरकिशोरीमा पोषणको कमि भएको केही सर्वेक्षणले देखाए पछि सरकारले हरेक स्कुलमा किशोरीलाई फोलिक एसिड चक्की वितरण कार्यक्रम समेत शुरु गरेको थियो। यस्तै वेला-वेलामा बालबालिका भिटामिन खुवाउने कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ। गर्भवतीहरूलाई त सरकारी स्वास्थ्य संस्थामा निशुल्क फोलिक एसिड र आइरन चक्की दिइँदै आएको छ।

‘पोषणको कमी नहोस् भनेर हाल हामीले हरेक स्कुलमा १९ वर्षमुनिका नानीहरूलाई फोलिक एसिड चक्की दिन थालेका छौँ। एक हप्ता बिराएर १३ हप्तासम्म दिने गरेका छौँ’, थापाले भने।

यस्तै कार्यक्रमहरु चलिरहेको बेलामा सरकारले फेरि बालबालिका किशोर-किशोरी र महिलाहरूमा पछिल्लो समयमा पोषणको अवस्था थाहा पाउन सर्वेक्षण गर्न लागेको हो।

यस्तै गर्भवतीलाई पनि नि:शुल्क फोलिक एसिड चक्की दिने गरिएको छ। गर्भावस्थाको समयमा १४५ ट्याब्लेट फोलिक एसिड खानुपर्ने र यो सबै नि:शुल्क दिने गरेको समेत थापाले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट