Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

शव व्यवस्थापनमा ढिलाइ हुँदा भरतपुरमा महामारीजन्य रोगको जोखिम

शव व्यवस्थापनमा ढिलाइ हुँदा भरतपुरमा महामारीजन्य रोगको जोखिम

चितवन : भोटेकोशी बाढीमा बगेर चितवन ल्याइएका शवको व्यवस्थापनमा ढिलाइ हुँदा भरतपुरमा महामारीजन्य रोग फैलिने जोखिम बढेको छ । रसुवा, नुवाकोट र धादिङतर्फबाट बगेर आएका मानव तथा पशुचौपायाका शव र अंगहरु नारायणी तथा त्रिशूली नदी किनारमा छरिएका छन् । संकलन गरिएका शवसमेत पर्याप्त ठाउँ र उचित व्यवस्थापनको अभावमा जोखिमपूर्ण अवस्थामा राखिँदा समस्या बढ्दै गएको हो ।

बाढीपछि शव व्यवस्थापनको जिम्मेवारी भरतपुरमा केन्द्रित भए पनि त्यसअनुसार पूर्वतयारी हुन नसक्दा अवस्था जटिल बनेको छ । नदी किनारबाट संकलन गरिएका शव एम्बुलेन्समार्फत भरतपुर ल्याइँदा लामो समय पानीमा डुबेका शवबाट पानी चुहिने गरेको छ । भरतपुर अस्पतालमा समेत ठाउँ अभाव भएपछि केही शव टेन्टमुनि राख्नुपर्ने अवस्था आएको छ ।

चितवनको उच्च गर्मीका कारण तीन दिनसम्म व्यवस्थापन हुन नसकेका शव गन्हाउन थालेका छन् । नदी तटीय क्षेत्रमा रहेका पशुचौपायाका शवसमेत कुहिन थालेपछि दुर्गन्धसँगै संक्रमणको जोखिम बढेको चिकित्सकहरुले बताएका छन् ।

पुष्पाञ्जली अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार शव कुहिने क्रममा निस्कने पदार्थ पानीमा मिसिँदा पानीजन्य संक्रमणको जोखिम बढ्न सक्छ । यस्तो अवस्थामा हैजा, टाइफाइड तथा हेपाटाइटिसजस्ता संक्रमण फैलिन सक्ने उहाँको भनाइ छ ।

संक्रमित पानीका कारण झाडापखालालगायतका रोग फैलिन सक्ने र लामखुट्टे तथा अन्य परजीवीको विकासले किटजन्य रोगको जोखिमसमेत बढ्न सक्ने चिकित्सकहरुको भनाइ छ । खाना तथा खानेपानी दूषित भएमा जोखिम झन् उच्च हुने उनीहरु बताउँछन् ।

शवबाट आएको दुर्गन्धका कारण वान्ता हुने, टाउको दुख्ने तथा मानसिक तनाव बढ्ने समस्या पनि देखिन सक्ने डा. अधिकारीले बताउनुभयो । उहाँका अनुसार शवलाई चिसो ठाउँमा राख्दैमा कुहिने प्रक्रिया पूर्णरुपमा रोकिन्न, त्यसैले सकेसम्म छिटो व्यवस्थापन गर्न आवश्यक छ ।

शवगृहमा क्षमताभन्दा धेरै शव

भरतपुर अस्पतालमा शव व्यवस्थापनको अवस्था झन् चुनौतीपूर्ण बनेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेका अनुसार अस्पतालको शवगृहमा करिब २४ वटा शव राख्न सक्ने क्षमता भए पनि अहिलेसम्म १७८ शव ल्याइसकिएको छ ।

क्षमता अभाव भएपछि शवगृह बाहिर टेन्ट राखेर शव राखिएको छ । नदी किनारमा थप २७ वटा शव ल्याउन एम्बुलेन्स तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

शवको सरसफाइ, अनुहारको तस्बिर खिच्ने, शरीरमा रहेका पहिचान खुल्ने चिन्ह टिपोट गर्ने र नम्बर प्रदान गरेपछि शवलाई भरतपुरस्थित औद्योगिक विकास प्रतिष्ठानको कार्यालयमा बनाइएको अस्थायी शवगृहमा राख्ने गरिएको छ । तर ठूलो संख्यामा शव आएपछि पहिचान तथा व्यवस्थापनको काममा समेत जनशक्ति अभाव भएको अस्पतालले जनाएको छ ।

डा. बगालेका अनुसार अस्पतालमा बिरामीको उपचारसँगै शव व्यवस्थापनको जिम्मेवारीसमेत सीमित जनशक्तिले सम्हाल्नुपर्दा समस्या भएको छ । भरतपुर अस्पतालमा उपचाररत बिरामीलाई निजी अस्पताल तथा मेडिकल कलेजहरुले समन्वय गरी निःशुल्क उपचारका लागि लैजान सके शव व्यवस्थापनमा अस्पतालको जनशक्ति केन्द्रित गर्न सहज हुने उहाँको भनाइ छ ।

बिरामी र सर्वसाधारणसमेत प्रभावित

भरतपुर अस्पतालको शवगृह बिरामी भर्ना हुने भवन नजिकै रहेकाले दुर्गन्धका कारण उपचाररत बिरामीसमेत प्रभावित भएका छन् । अस्पतालसँगै रहेको पुरानो मेडिकल कलेजमा समेत दुर्गन्ध फैलिन थालेको चिकित्सकहरुले बताएका छन् । अस्पताल आसपासका सडकमा हिँड्ने सर्वसाधारणसमेत मुख छोपेर हिँड्नुपर्ने अवस्था आएको छ ।

कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का नेफ्रोलोजिष्ट डा. माधव घिमिरेले शवको तत्काल व्यवस्थापन नगरे संक्रमणको जोखिम बढ्न सक्ने बताउनुभयो । उहाँका अनुसार झाडापखालादेखि श्वासप्रश्वास तथा फोक्सोसँग सम्बन्धित संक्रामक रोगसम्म फैलिन सक्ने जोखिम छ ।

नदी किनारका बासिन्दाले समेत विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकहरुको सुझाव छ । नदीमा रहेका पशुचौपायाका शवबाट पानी दूषित भई संक्रमण फैलिन सक्ने भएकाले खानेपानी र खानाको स्वच्छतामा विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

निजी अस्पताल उपचारका लागि तयार

यसैबीच चितवन मेडिकल कलेजले भरतपुर अस्पतालमा उपचार गर्न कठिन भएका बिरामीलाई समन्वय गरी उपचार गर्न तयार रहेको जनाएको छ । अस्पतालका निर्देशक प्रा.डा. गोपेन्द्र देवले सरकारी निकायबाट आग्रह भएमा अस्पतालको क्षमता अनुसार बिरामीलाई ल्याएर उपचार गर्न सकिने बताउनुभयो ।

चितवन मेडिकल कलेजले बाढी प्रभावित बिरामीलाई निःशुल्क उपचार गर्ने जनाएको छ । निजी अस्पताल तथा मेडिकल कलेजले बिरामी व्यवस्थापनमा सहयोग गरेमा भरतपुर अस्पताललाई ठूलो संख्यामा आएका शवको पहिचान र व्यवस्थापनमा थप केन्द्रित हुन सहज हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट