चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा विभिन्न स्थानमा खसेको लेदोसहितको पहिरो पन्छाइएपछि सडक दुवैतर्फ सञ्चालनमा आएको छ।
सोमबार बिहान तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलो क्षेत्रमा लेदोसहितको पहिरो खस्दा केही समय सडक एकतर्फी अवरुद्ध भएको थियो।
डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला र सिमलतालमा सडक एकतर्फी बन्द भएको थियो भने अन्य स्थानमा सडक छेउमा लेदो थुप्रिएको थियो। पहिरो हटाएपछि बिहान करिब १० बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको उनले बताए।
तुइनखोलाको पहिरो निर्माण कार्य गरिरहेको कम्पनीले हटाएको हो भने अन्य स्थानमा मुग्लिन र सेतीदोभानमा रहेका उपकरण प्रयोग गरी सडक सफा गरिएको कार्यालयले जनाएको छ।
सडक क्षेत्रमा अहिले पनि सिमसिम वर्षा भइरहेकाले जुनसुकै बेला पुनः पहिरो खस्न सक्ने जोखिम रहेको भन्दै सवारी चालक र यात्रुलाई सतर्क भएर यात्रा गर्न आग्रह गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij