देवघाट : चितवन, नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा मलमासको अन्तिम सोमबारे औँसीका अवसरमा श्रद्धालुको उल्लेख्य भीड लागेको छ।
पवित्र स्नान तथा पूजाआजाका लागि बिहानैदेखि देशका विभिन्न स्थानबाट भक्तजन देवघाटधाम पुगेका थिए। त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा स्नान गर्दै श्रद्धालुले पूजा, आराधना, दान तथा विभिन्न धार्मिक अनुष्ठान सम्पन्न गरेका छन्।
धार्मिक मान्यताअनुसार सोमबारे औँसीका दिन देवघाटधाममा स्नान तथा पूजाआजा गर्दा विशेष पुण्य प्राप्त हुने विश्वास रहिआएको छ। यही विश्वासका कारण हरेक वर्षझैँ यस वर्ष पनि चितवन, नवलपुर, तनहुँसहित आसपासका जिल्लाबाट हजारौँ श्रद्धालु देवघाटधाम पुगेका हुन्।
श्रद्धालुको अत्यधिक चापलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा तथा व्यवस्थापनलाई प्रभावकारी बनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वयंसेवक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तीर्थयात्रीको सहजीकरणमा खटिएका छन्।
मलमासको अन्तिम दिन देवघाटधाम भक्तजनको उपस्थितिले भरिभराउ बनेको छ। धार्मिक आस्था, भजन–कीर्तन र पूजाआजाले देवघाट क्षेत्रको वातावरण थप भक्तिमय र उल्लासमय बनेको देखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij