Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित

रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रदेश अधिवेशनबाट बहालवाला सभापति तथा सांसदहरू नै पराजित भएका छन् । संघमा निर्वाचित सांसदहरूलाई तल्लो समितिमा उम्मेदवार दिन रोक लगाउनेगरि पार्टीले पठाएको सर्कुलर विपरीत उनीहरूले उम्मेदवारी दिएका थिए । हालसम्म बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशको नेतृत्व चयन भइसकेको छ । लामो रस्साकस्सीपछि बागमती प्रदेशमा शनिबार राति भएको चुनावमा वर्तमान सभापति तथा नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. अच्युतम लामिछाने २ मतले पराजित भए । 

हाल प्रदेशका प्रवक्ता रहेका मकवानपुरका उत्सव अर्याल ४१६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी लामिछानेले ४१४ मत प्राप्त गरे । सभापति पदका लागि लामिछाने, अर्यालसहित काभ्रे–२ बाट निर्वाचित सांसद बदन भण्डारी, धादिङका कृष्णमान श्रेष्ठ र रामेछापका हरिबहादुर खत्रीले उम्मेदवारी दिएका थिए । मतदाता नामावली, नेतृत्व छनोट, मतपत्रमा देखिएको त्रुटिका कारण विवाद उत्पन्न हुँदा अधिवेशन प्रतिनिधिहरू आ–आफ्ना घर फर्किएका थिए । आन्तरिक विवादका कारण निर्वाचन आयोगले अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित गरेको थियो । अन्तिम समयमा अन्य प्रतिस्पर्धीले उम्मेदवारी फिर्ता लिएपछि अर्याल र लामिछानेबिच कडा प्रतिस्पर्धा भएको थियो ।

यसैगरी गण्डकी प्रदेशमा शनिबार भएको निर्वाचनमा बहालवाला सभापति तथा नवलपुरबाट निर्वाचित सांसद राजन गौतम पनि पराजित भएका छन् । पार्टी स्थापनाकालदेखि नै संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका गौतम ५२ मतान्तरले पराजित भए । सभापतिमा निर्वाचित नवीन त्रिपाठी २३४ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी गौतमले १८२ मत प्राप्त गरे । यस्तै लुम्बिनी प्रदेशमा आइतबार बिहान भएको निर्वाचनमा समानुपातिक सांसद मञ्जु ज्ञवाली भुसाल पराजित भइन् । पहिलो चरणमा भएको निर्वाचनमा कसैले पनि बहुमत प्राप्त नभएपछि दोस्रो चरणमा शालिकराम घिमिरे सर्वसम्मत निर्वाचित भए । पहिलो चरणमा भुसाल सहित डा. राज कुमार सुवेदी, मधुप्रसाद अर्याल, गोपाल घिमिरे र गणेश पौडेलले उम्मेदवारी दिएका थिए । 

पहिलो चरणमा शालिकरामले सबैभन्दा बढी १९९ मत ल्याएका थिए । दोस्रोमा गोपालले ८७ मत प्राप्त गरेका थिए । गोपालले उम्मेदवारी फिर्ता लिएर शालिकरामलाई समर्थन गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको थियो । विवादका कारण मधेस प्रदेशमा अधिवेशन स्थगित भएको छ । कर्णाली र सुदूरपश्चिममा आज र भोलि अधिवेशन कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट