Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

दुर्घटनाले बदल्यो जीवनको दिशा, संघर्षलाई शक्तिमा बदल्दै अघि बढिन् कन्टेन्ट क्रिएटर दिया केसी

दुर्घटनाले बदल्यो जीवनको दिशा, संघर्षलाई शक्तिमा बदल्दै अघि बढिन् कन्टेन्ट क्रिएटर दिया केसी

काठमाडौं : कन्टेन्ट क्रिएटर दिया केसीले आफ्नो जीवनको सबैभन्दा कठिन मोड र त्यसपछिको संघर्षपूर्ण यात्राबारे भावुक अनुभव साझा गरेकी छन्। एक अप्रत्याशित दुर्घटनाले उनको जीवनको दिशा नै परिवर्तन गरिदिएको उनले बताएकी छन्। दुर्घटनाअघि सामान्य युवतीझैँ सपना, लक्ष्य र भविष्यका योजनासहित अघि बढिरहेकी दियाको जीवन एकाएक बदलियो। दुर्घटनामा गम्भीर घाइते भएपछि उनको बायाँ खुट्टा बचाउन सम्भव नभएको र अन्ततः खुट्टा गुमाउनुपरेको उनले बताइन्।

दियाका अनुसार शारीरिक पीडाभन्दा मानसिक रूपमा आफूलाई सम्हाल्नु अझ कठिन बनेको थियो। शरीरको एउटा महत्वपूर्ण अंग गुमाउनुको पीडासँगै अबको जीवन कसरी अघि बढाउने भन्ने चिन्ताले उनलाई लामो समयसम्म सताएको थियो। आफ्नो अनुभव सुनाउँदै उनले भनिन्, “यदि त्यो दुर्घटना नभएको भए मेरो जीवन फरक हुन सक्थ्यो। म बाँच्न त सफल भएँ, तर मेरो बायाँ खुट्टा गुमाएँ। त्यो घटनाले मेरो जीवनको दिशा नै परिवर्तन गरिदियो।”

दुर्घटनापछि उनले लामो समय उपचार र पुनर्स्थापनामा बिताइन्। सुरुवाती दिनहरूमा सामान्य हिँडडुल गर्नेदेखि दैनिक कामकाजसम्म चुनौतीपूर्ण बनेको थियो। तर उनले परिस्थितिसँग हार नमानी कृत्रिम खुट्टाको सहारामा नयाँ जीवन सुरु गर्ने निर्णय गरिन्। समयसँगै दियाले आफ्नो आत्मविश्वास पुनः निर्माण गरिन्। निरन्तर प्रयास, साहस र सकारात्मक सोचका कारण उनी अहिले सामाजिक सञ्जालमा सक्रिय रहेर आफ्ना अनुभव, संघर्षका कथा र प्रेरणादायी सन्देशहरू साझा गरिरहेकी छन्।

दियाले जीवनका कठिन क्षणहरूलाई स्वीकार गरेर अघि बढ्नुपर्ने सन्देश दिँदै भनिन्, “हामीसँग नभएको कुरामा दुःखी भइरहनुभन्दा भएको कुराको मूल्य बुझेर अगाडि बढ्न सिक्नुपर्छ। कठिनाइहरू जीवनको अन्त्य होइनन्, नयाँ सुरुवातका अवसर पनि हुन सक्छन्।” दियाको संघर्ष र आत्मविश्वासको कथा अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। दुर्घटनाले उनको जीवनमा गहिरो चोट पुर्‍याए पनि उनले त्यसलाई कमजोरी होइन, नयाँ सम्भावनाको आधार बनाउँदै जीवनलाई सकारात्मक दिशामा अघि बढाएकी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट