Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

टिकौलीमा कृष्णसार स्थानान्तरणका लागि करिब १३० रुख व्यवस्थापन आवश्यक, तयारी तीव्र

टिकौलीमा कृष्णसार स्थानान्तरणका लागि करिब १३० रुख व्यवस्थापन आवश्यक, तयारी तीव्र

चितवन : रत्ननगरको टिकौली क्षेत्रमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। तर, संरक्षण केन्द्र वरपर रहेका करिब १३० रुख व्यवस्थापन गर्नुपर्ने देखिएपछि काम केही ढिलाइ हुने भएको छ।

डिभिजन वन कार्यालय चितवनका अनुसार इन्क्लोजर क्षेत्र वरिपरि रहेका रुखहरू हटाउनुपर्ने निष्कर्ष स्थलगत अध्ययनपछि निकालिएको हो। डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार बाघ, चितुवा लगायत वन्यजन्तु रुख चढेर कृष्णसारमाथि आक्रमण गर्ने जोखिम भएकाले सुरक्षा दृष्टिले रुख व्यवस्थापन अनिवार्य बनेको हो।उनका अनुसार करिब १०६ रुख बाहिरी क्षेत्रमा र २३ रुख भित्री भागमा पर्ने देखिएको छ। “भित्र नुगेका र बाहिर ढल्केका रुख हटाउनै पर्ने अवस्था छ,” उनले बताए।

कानुनी प्रक्रिया अघि बढाइँदै

सालका रुख हटाउनुपर्ने भएकाले आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रतिवेदन प्रदेश वन निर्देशनालय हुँदै वन विभागमा पठाइने डिभिजन वन कार्यालयले जनाएको छ। सरकारले प्राथमिकता दिएको आयोजना भएकाले प्रक्रिया छिटो अघि बढ्ने अपेक्षा गरिएको छ।

१८ वटा कृष्णसार स्थानान्तरण तयारी

कृष्णसार संरक्षण कार्यक्रमअन्तर्गत पहिलो चरणमा १८ वटा (१२ पोथी र ६ भाले) कृष्णसार स्थानान्तरण गर्ने तयारी छ। ती जनावरहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट ल्याइनेछन्। रत्ननगर नगरपालिकाले आवश्यक तारजाली, घाँसेमैदान र पोखरी निर्माण लगायतका पूर्वाधार पूरा गरिसकेको जनाएको छ। नगर प्रमुख प्रलाद सापकोटाका अनुसार संरक्षण क्षेत्रमा करिब तीन करोड रुपैयाँ खर्च भइसकेको छ।

पर्या–पर्यटन विकासको लक्ष्य

नगरपालिकाले कृष्णसार संरक्षणलाई पर्या–पर्यटनसँग जोड्ने योजना अघि सारेको छ। टिकौली क्षेत्रमा हरियाली पार्क निर्माण समेत भइरहेको छ, जसले भविष्यमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ। पञ्चकन्या सामुदायिक वन क्षेत्रमा करिब १८ हेक्टर क्षेत्रफलमा तारबार, घाँसेमैदान र दुई वटा पोखरी निर्माण भइसकेका छन्। बाँकी रहेको रुख व्यवस्थापन पूरा भएपछि कृष्णसार स्थानान्तरण प्रक्रिया अघि बढाइने बताइएको छ।

वि.सं. २०७७ मा अध्ययन सुरु भएको यो परियोजना २०७८ देखि पूर्वाधार निर्माणसहित अघि बढाइएको हो। प्राविधिक कारणले केही ढिलाइ भए पनि अब काम अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन्। कृष्णसार नेपालमा संरक्षित तथा लोपोन्मुख वन्यजन्तु हो, जसको संरक्षणलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट