Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

बागमतीका १० जिल्लाका संस्कृति गुरुकुलका बटुकलाई निःशुल्क स्वास्थ्य उपचार

बागमतीका १० जिल्लाका संस्कृति गुरुकुलका बटुकलाई निःशुल्क स्वास्थ्य उपचार

चितवन :  बागमती प्रदेश सरकारले प्रदेशका १० जिल्लामा सञ्चालित गुरुकुल तथा संस्कृत शिक्षा प्रदान गर्ने विद्यालयका विद्यार्थी, बटुक र कर्मचारीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने भएको छ ।
गुरुकुलमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य सुरक्षासँगै वैदिक सनातन धर्म, संस्कृति र संस्कृत भाषाको संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले यस्तो अभियान अघि बढाएको हो । स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरिबहादुर तामाङको निर्देशनमा सुरु हुन लागेको अभियानको पहिलो चरणमा पूर्वी चितवनको रत्ननगर–निपनीस्थित हरिहरधाम गुरुकुलका १२० भन्दा बढी विद्यार्थी तथा बटुकलाई स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।
मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार राजु भण्डारीका अनुसार हरिहरधामका विद्यार्थीको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार रत्ननगरस्थित बकुलहर अस्पतालमार्फत गरिनेछ । गुरुकुलमा अध्ययनरत बटुकलाई निःशुल्क शिक्षा, खाना र आवासको व्यवस्था भए पनि स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउन प्रदेश सरकारले यो पहल गरेको उनले बताए ।

नेपालको मौलिक पहिचान, धर्मसंस्कृति र वैदिक सनातन परम्पराको संरक्षणमा गुरुकुलहरूको महत्वपूर्ण भूमिका रहेको मन्त्री तामाङले बताए । गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीको शिक्षा र आवाससँगै स्वास्थ्य सुरक्षाको जिम्मेवारी पनि राज्यले लिनुपर्ने उनको भनाइ छ ।

मन्त्रालयले बागमती प्रदेशभित्र सञ्चालित गुरुकुलहरूको संख्या, अवस्था र आवश्यकताबारे तथ्यांक संकलनसमेत गरिरहेको जनाएको छ । जसका लागि एक कार्यदल गठनसगैं काम अगाडि बढाउने भण्डारीले बताए । संकलित विवरणका आधारमा प्रदेशका १० जिल्लामा रहेका गुरुकुललाई समेटेर अभियान विस्तार गरिनेछ ।

प्रदेश सरकारको स्वामित्वमा रहेका अस्पतालमार्फत स्वास्थ्य परीक्षण, उपचार तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको छ । यस अभियानले गुरुकुलमा अध्ययनरत बटुक तथा कर्मचारीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनुका साथै उनीहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij