Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

अदालतको आदेशपछि काममा फर्किए गण्डकीका खेलकुद सदस्यसचिव शर्मा

अदालतको आदेशपछि काममा फर्किए गण्डकीका खेलकुद सदस्यसचिव शर्मा

पोखरा :  गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिवबाट बर्खास्त गरिएका श्रीधर शर्मा उच्च अदालत पोखराको अल्पकालीन आदेशपछि पुनः काममा फर्किएका छन् ।

मंगलबार न्यायाधीश तेजनारायण राईको इजलासले शर्मालाई पदबाट हटाउने प्रदेश सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न र उनलाई यथावत् काम गर्न दिन आदेश दिएको हो ।

अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई मंसिर ७ गते उपस्थित हुन भनेको छ । अदालतको आदेशपछि शर्मा मंगलबार नै जिम्मेवारीमा फर्किएका हुन् ।

खेलकुद पदक वितरणमा अनियमितता र प्रक्रियागत त्रुटि गरेको आरोपमा छानबिन भएपछि सरकारले गत असोज १ गते शर्मासँग सात दिनभित्र स्पष्टीकरण मागेको थियो । त्यसपछि १८ कात्तिकमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउँदै अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयका उपसचिव दीपेन्द्र परियारलाई सदस्यसचिवको जिम्मेवारी दिएको थियो ।

शर्माले सरकारको निर्णयविरुद्ध उत्प्रेषण तथा परमादेशको रिट दायर गरेका थिए । यसअघि स्पष्टीकरण सोध्ने निर्णयविरुद्ध दायर अर्को रिटमा पनि अन्तरिम आदेशका विषयमा छलफल गर्न अदालतले दुवै पक्षलाई बोलाएको छ ।

यसैबीच, अदालतले माग गरेको निर्णयको सक्कल कागजात उपलब्ध नगराएको भन्दै शर्माले दायर गरेको अदालतको मानहानीसम्बन्धी रिटमा पनि कारण देखाऊ आदेश जारी भएको छ । न्यायाधीश हरिप्रसाद पौडेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij