काठमाडौं : दुई वर्षअघि प्रदर्शनमा आएको नेपाली फिल्म ‘रावायण’सँग जोडिएको प्राविधिक पारिश्रमिक विवाद अन्ततः टुंगिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा भएको छलफलपछि विवादित रकम तिर्ने सहमति भएको हो ।
निर्माता तथा कलाकारहरूबीच भएको सहमतिअनुसार कुल १२ लाख रुपैयाँमध्ये नायिका पूजा शर्माले ८ लाख रुपैयाँ र निर्देशक सुदर्शन थापाले ४ लाख रुपैयाँ प्राविधिकहरूलाई बुझाउने भएका छन् ।
सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्मको क्रेडिट र बजेट विवादका कारण लामो समयदेखि प्राविधिकहरूको पारिश्रमिक रोकिएको थियो । प्राविधिक संघको पहलमा भएको छलफलपछि मुद्दा समाधान भएको हो । प्राविधिक संघका अनुसार अझै पनि करिब ४० वटा फिल्ममा पारिश्रमिक विवाद बाँकी रहेको छ, जसलाई छिटो समाधान गर्न आग्रह गरिएको छ ।