Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

ब्लकबस्टर चलचित्र ‘धुरन्धर’ का प्रोडक्शन डिजाइनर जोन जोसेफविरुद्ध बलात्कार आरोपमा मुद्दा दर्ता

ब्लकबस्टर चलचित्र ‘धुरन्धर’ का प्रोडक्शन डिजाइनर जोन जोसेफविरुद्ध बलात्कार आरोपमा मुद्दा दर्ता

मुम्बई : ब्लकबस्टर हिट चलचित्र ‘धुरन्धर’ का प्रोडक्शन डिजाइनर जोन जोसेफ उर्फ जोएल विरुद्ध चण्डीगढमा बलात्कारको मुद्दा दर्ता भएको छ। चलचित्रमा भूमिका दिलाउने प्रलोभन देखाएर होटलमा युवतीमाथि जबर्जस्ती शारीरिक सम्बन्ध राखेको र पछि कुटपिट गरेको आरोप उनीमाथि लागेको छ। 

पीडित युवतीको उजुरीका आधारमा चण्डीगढको सेक्टर–१७ थाना पुलिसले भारतीय न्याय संहिताको धारा ७४, ७९, १२३, १२६(२) र अन्य सम्बद्ध धाराहरू अन्तर्गत जोसेफविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।

नागपुर घर भएकी पीडित युवतीले प्रहरीमा दिएको उजुरी अनुसार सन् २०२५ मा चण्डीगढको सेक्टर–१८ स्थित ट्यागोर थियटरमा चलचित्र ‘धुरन्धर’ को सुटिङ भइरहेको थियो। सोही क्रममा उनको भेट चलचित्रको प्रोडक्शन टोलीसँग आबद्ध जोन जोसेफसँग भएको थियो। जोसेफले ती युवतीलाई चलचित्रमा काम दिलाउने र अन्य प्रोजेक्टहरूमा जोड्ने आश्वासन दिएपछि उनीहरूबीच कुराकानी बढेको थियो। 

पीडितको आरोप अनुसार सन् २०२५ सेप्टेम्बर २ का दिन जोसेफले उनलाई सेक्टर–१७ मा रहेको एक होटलमा लिएर गएका थिए, जहाँ उनीमाथि जबर्जस्ती शारीरिक सम्बन्ध कायम गरिएको थियो। घटनापछि आरोपीले कसैलाई नभन्नू भन्दै धम्की दिएको र पछि कुटपिट समेत गरेको युवतीले उजुरीमा उल्लेख गरेकी छन्। चण्डीगढ पुलिसले अहिले घटनाका सबै तथ्यहरूलाई ध्यानमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

चलचित्र ‘धुरन्धर’ सँग जोडिएका प्राविधिक वा कलाकारमाथि बलात्कारको आरोप लागेको यो पहिलो घटना भने होइन। यसअघि यसै चलचित्रमा अक्षय खन्ना (रहमान डकैत) को भान्से ‘अखलाक’ को भूमिका निभाउने अभिनेता नदीम खानलाई पनि मुम्बई पुलिसले यसै वर्षको जनवरी महिनामा बलात्कार मुद्दामा पक्राउ गरेको थियो। 

खानमाथि एक घरेलु महिला कामदारले विवाहको झूटो प्रलोभन देखाएर १० वर्षसम्म बलात्कार र यौन शोषण गरेको तथा पछि विवाह गर्न अस्वीकार गरेको आरोप लगाएकी थिइन्। सुरुमा भर्सोभा प्रहरी स्टेशनमा परेको उक्त उजुरीलाई पछि मालवणी प्रहरी स्टेशनमा स्थानान्तरण गरी पुलिसले खानलाई तुरुन्तै पक्राउ गरेको थियो। आदित्य धरको निर्देशनमा बनेका चलचित्रहरू ‘धुरन्धर’ र ‘धुरन्धर २’ बक्स अफिसमा ब्लकबस्टर साबित भएका छन् र यी चलचित्रले कमाइका धेरै रेकर्डहरू तोडिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट