Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कार्यस्थलमै अचेत बने एसपी कुँवर, डीआईजी थपलियाले मानसिक यातना दिएको दाबी

कार्यस्थलमै अचेत बने एसपी कुँवर, डीआईजी थपलियाले मानसिक यातना दिएको दाबी

जनकपुरधाम : तस्करसँगको साँठगाँठलाई लिएर विवादित बनेका मधेश प्रदेशका डीआईजी गोविन्द थपलियाले स्पष्टीकरण सोध्ने क्रममा जिल्ला प्रहरी धनुषाका प्रमुख एसपी रुगमबहादुर कुँवर कार्यस्थलमै अचेत भई ढलेका छन् । आइतबार प्रदेश प्रहरी कार्यालयले दबाबपूर्ण स्पष्टीकरण सोधेपछि कुँवर शरीर अनियन्त्रित भएर लडेको स्रोतको भनाइ छ ।

सोमबार निवासमै आराम गरेका उनको स्वास्थ्यमा खासै सुधार नभएपछि मंगलबारदेखि सात दिनको बिदा स्वीकृत भएको जिल्ला प्रहरी स्रोतले जानकारी दियो । डीआईजी थपलियाले गुट्खा तस्करसँग भएको आर्थिक कारोबारको मामिलामा वरिष्ठ सई सागरशमसेर राणातिर सोझ्याउन खोजेका थिए । त्यसका लागि जिल्लाका एसपी कुँवरसँग दोस्रोपटक स्पष्टीकरण सोधिएको हो ।

एक व्यापारीले डीआईजी थपलियाका लागि आर्थिक संकलन गरेको स्वीकारोक्तिसहितको अडिओ संवाद नेपाल प्रेसले सार्वजनिक गरेको थियो । उक्त अडिओ प्रकरणपछि वरिष्ठ सई राणालाई निलम्बनको सिफारिस भएको छ । तर, उक्त विषयको जानकारी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी कमल थापालाई छैन ।

विवाद के थियो ?
धनुषाको भारतीय सीमावर्ती नाकाबाट डीआईजी निकटका केही व्यापारीले फुजी प्रजातीको चिनियाँ स्याउ भित्र्याउन खोज्दा एसपी कुँवरले रोकेका थिए । उक्त घटनापछि उनीहरुबीच तिक्तता रहँदै आएको थियो । थपलियाले कुँवरलाई आफ्नो कार्यालयमा बोलाएरै अपशव्दसहित गाली गरेको प्रहरीस्रोतले जनाएको छ । त्यसयता उनीहरुको सम्बन्धमा सुधार भएन ।

जिल्ला प्रहरीले रोकेको तस्करीलाई प्रदेश प्रहरीबाट खटिएका प्रहरीले खुलाउन थालेपछि उनीहरुबीचको तनाव चुलिएको थियो । मधेस प्रहरीबाट तस्करी खुलाउन सक्रिय प्रहरीलाई प्रधान कार्यालयस्थित प्रहरी उच्च नेतृत्वका आफन्तले साथ दिएको चर्चा जिल्लाका प्रहरीबीच चल्ने गरेको छ । पछिल्लो समयमा सार्वजनिक भएको अडियो एक गुट्खा तस्करीसँगको संवाद थियो । त्यसमा डीआईजी थपलियाका लागि रकम उपलब्ध गराइएको व्यहोरा उल्लेख छ ।

कुँवरलाई के भएको हो ?

जिल्ला प्रहरी प्रवक्ता डीएसपी गणेशबहादुर बमले भने कुँवर घरायसी कारणले बिदामा बसेको बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘आजदेखि उहाँ बिदामा बस्नुभएको छ, थप विषय मेरो जानकारीमा छैन ।’ स्रोतका अनुसार एसपी कुँवरमा पहिलादेखि नै उच्च रक्तचापको समस्या थियो । यस्तो स्थितिको मानिसले अत्यधिक तनाव व्यहोर्न सक्दैन । कुँवरको पारिवारिक स्रोतका अनुसार उनले चलाइरहेको रक्तचापको औषधीले समेत काम गर्न नसक्ने स्थितिका कारण उनी कार्यस्थलमै अस्वस्थ्य भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट