Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मधेसका गृहमन्त्रीद्वारा दशगजा क्षेत्रको निरीक्षण

मधेसका गृहमन्त्रीद्वारा दशगजा क्षेत्रको निरीक्षण

जनकपुरधाम : मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले सोमबार महोत्तरीको मटिहानीस्थित दशगजा क्षेत्रको निरीक्षण गरेका छन् ।

सो अवसरमा मन्त्री महतोले सीमाक्षेत्रको शान्ति–सुरक्षा अवस्था तथा विकास निर्माणमा भएका प्रगतिबारे जानकारी लिएका छन् । सोमबार बिहान मटिहानी पुगेका मन्त्री महतोले दशगजा क्षेत्रमा निर्माणाधीन तर हाल रोकिएको नाला निर्माण कार्यको समेत अवलोकन गरे । स्थानीय बजरंजी प्रसाद साह र शिवा साहले आफ्नो निजी जग्गामा नाला निर्माण गर्न लागिएको भन्दै उच्च अदालत जनकपुरमा रिट निवेदन दर्ता गरेपछि अदालतले तत्काल काम रोक्न आदेश दिएको थियो ।

निरीक्षणका क्रममा मन्त्री महतोले विकास निर्माणका काममा अवरोध हुन नहुने बताउँदै दुवै पक्षबिच छलफल गरी समस्याको समाधान खोज्न आग्रह गरे । उनले जग्गाको यकिन गरी सम्बन्धित पक्षलाई क्षति नपुग्ने गरी आवश्यक पहल थाल्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री महतोले मटिहानीस्थित प्रसिद्ध लक्ष्मी नारायण मठमा दर्शनसमेत गरेका छन् । उनलाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल तथा मठका उत्तराधिकारी महन्थ डा. रविन्द्र दास वैष्णवले स्वागत गरेका थिए ।

मन्त्री महतोसँगै प्रदेश सभा सदस्य सुनिता कुमारी साह, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुरक्षा निकायका प्रमुखहरू पनि निरीक्षणमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट