Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

घण्टीबाट सांसद बन्न नसकेपछि पुनः मनोरञ्जनमै फर्किने प्रकाश सपुतको घोषणा

घण्टीबाट सांसद बन्न नसकेपछि पुनः मनोरञ्जनमै फर्किने प्रकाश सपुतको घोषणा

काठमाडौं : कलाकार प्रकाश सपुतले आफ्नो पछिल्लो राजनीतिक यात्राबारे पहिलोपटक मुख खोलेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा रहेर पनि प्रतिनिधिसभा सदस्य बन्न नसकेपछि सपुतले सामाजिक सञ्जालमार्फत आफ्ना अनुभव, उद्देश्य र भावनाहरू सार्वजनिक गरेका हुन्। सपुतले बाल्यकालदेखि नै आफूमा राजनीतिक चेत रहेको उल्लेख गर्दै समयको मागअनुसार संसद छिर्ने योजना बनाएको बताएका छन् ।

उनले नयाँ राजनीतिक शक्ति निर्माण, पुरानो अभ्यास, अस्थिरता र भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यसहित रास्वपालाई समर्थन गरेको स्पष्ट पारे। साथै, बालेन शाहको नेतृत्वमा स्थिर सरकार निर्माणमा योगदान गर्ने र उत्पीडित समुदायका मुद्दा सदनमा उठाउने लक्ष्यका साथ निर्वाचनमा होमिएको उनले बताएका छन्।

यद्यपि, सांसद बन्न नसकेकोमा आफू निराश नभएको उनको भनाइ छ। 'निर्वाचनपछि ‘म छुटेँ’ भन्ने त लागेको छ, तर उद्देश्य पूरा भएकोमा छोटो तयारीमै उत्कृष्ट नम्बर ल्याएर पास भएको विद्यार्थीझैँ खुसी छु,' उनले उल्लेख गरेका छन् । सपुतले आफूले व्यक्तिगत लाभका लागि नभई समग्र परिवर्तनका पक्षमा मत माग्दै अभियान चलाएको दाबी गरेका छन्। उनका अनुसार यसपटकको निर्वाचनले नागरिकहरू परिवर्तनको पक्षमा उभिएको संकेत दिएको छ ।

राजनीतिक यात्राका क्रममा उनले केही कटु टिप्पणीहरू पनि सुन्नुपरेको उल्लेख गर्दै आफू उत्पीडित समुदायबाट आएको सामान्य नागरिक भएको बताएका छन्। समाजमा देखिएका विभेद र असमानताले बाल्यकालमै आफूभित्र आक्रोश पैदा गरेको स्मरण गर्दै उनले त्यसलाई सिर्जनात्मक अभिव्यक्तिमा रूपान्तरण गरेको बताए। सपुतले सांसद बनेको भए उत्पीडित समुदायका अधिकार र नेपाली मौलिक संस्कृतिको संरक्षणका क्षेत्रमा केन्द्रित भएर काम गर्ने योजना बनाएको पनि खुलाएका छन्।

यसैबीच, रास्वपा सभापति रवि लामिछाने सँग भएको संवादले आफूलाई थप उत्साहित बनाएको उनले बताएका छन्। लामिछानेले फोनमार्फत समानताको मुद्दा पार्टीको साझा एजेण्डा रहेको आश्वासन दिएको भन्दै सपुतले त्यसप्रति कृतज्ञता व्यक्त गरेका छन्। राजनीतिमा सक्रिय भूमिका तत्कालका लागि स्थगित गर्दै अब पुनः आफ्नो मूल पेशा—कलाकारितामै फर्किने उनले संकेत गरेका छन्। उनले लेखेका छन्, 'म अब ढुक्कले जनतालाई मनोरन्जन दिन चाहन्छु । मेरो बाल मष्तिकले बोकेको सामाजिक र राजनैतिक चेतको भारी बिसाएर केबल ईन्टरटेनर हुन चाहन्छु ।'

सपुतले अन्त्यमा आफू समाज र राज्यको नजरमा समान हैसियतको नागरिकका रूपमा बाँच्न चाहेको उल्लेख गर्दै आफ्नो धारणा राखेका छन् । उनी रास्वपाको समानुपातिक सांसद बन्ने दाउमा थिए । सुरुमा रास्वपाको समानुपातिक बन्द सूचीबारे विवाद भएको थियो । कतिपयले उक्त बन्द सूचीबाट नाम फिर्ता लिएका थिए । तर गायक सपुतले भने नाम फिर्ता लिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट