Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

गृहमन्त्रीले भेटे जिप दुर्घटनाका घाइते

गृहमन्त्रीले भेटे जिप दुर्घटनाका घाइते

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको गाडी दुर्घटनाका घाइतेलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ। रामेछाप २‚ सिरुबारीमा सोमबार भएको निर्वाचन सामग्री बोकेको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो। सातजना घाइते भएका थिए। घाइतेहरूको उद्धार गरेर अहिले छाउनिस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ।

निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी चढेको जिप दुर्घटनामा परेको हो। भेटमा गृहमन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमी आउन नदिने बताए। छाउनी अस्पतालका चिकित्सक डा. नम्रता महराका अनुसार घाइतेमध्ये पूजा सुनुवारको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। बाँकी ६ जना भीमबहादुर मानन्धर, केदारकुमार रोका, दुर्गा कार्की, कृष्णप्रसाद घिमिरे, सबिना खड्का र समरबहादुर मानन्धर मेडिकल वार्डमा उपचाररत छन्। घाइतेमध्ये चार महिला र तीन पुरुष छन्।

मन्थलीबाट मतदान केन्द्र शीतलादेवी मावि सिरुवारी (क), (ख) र वडा ३ को वडा कार्यालय भवन साँघुटार (क) र (ख) मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलगायत कर्मचारी र सुरक्षाकर्मी मतपत्रसहितका निर्वाचन सामग्री लिएर जाँदै गरेको ना.७ख ६७६८ नम्बरको निशान गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनामा मतदान अधिकृत डोरप्रसाद घिमिरे र सहायक प्रहरी निरीक्षक (असई) पर्शुराम यादवको निधन भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट