बारा : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बारामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही स्थानीय नेताहरूले राजीनामा घोषणा गरेका छन्।
रास्वपा बारा जिल्ला संगठन विभाग प्रमुख पवन चौधरी, कलैया उपमहानगरपालिका नगरसभापति सञ्जिव यादव र देवताल गाउँपालिका सभापति कमरुद्धिन मियाँले शुक्रबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति सार्वजनिक गर्दै राजीनामा दिएको जानकारी गराएका छन्। उनीहरूले पार्टीले उम्मेदवारी दिन इच्छुक व्यक्तिलाई अनलाइन फाराम भर्न लगाएको उल्लेख गर्दै टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्।
कलैया उपमहानगरपालिका नगरसभापति सञ्जिव यादवले अनलाइन फाराम भर्ने क्रममा उम्मेदवारहरूसँग प्रत्यक्षतर्फ २५ हजार र समानुपातिकतर्फ ५० हजार रुपैयाँ संकलन गरिएको बताउँदै उक्त रकम फिर्ता गर्न माग गरेका छन्। बारामा ५० जनाभन्दा बढीले अनलाइनमार्फत प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारी दर्ता गराएका थिए। अनलाइन फाराम भर्न पार्टी सदस्यता अनिवार्य गरिएको थियो। स्थानीय नेताहरूले पार्टी सदस्यता लिएर अनलाइनमार्फत उम्मेदवारी दिएका व्यक्तिहरूलाई समावेश नगरिएको बताएका छन्।
समानुपातिकतर्फ पनि रकम बुझाएर फाराम भरेका व्यक्तिहरूलाई बाराबाट समावेश नगरिएको यादवको भनाइ छ। देवताल गाउँपालिका सभापति कमरुद्धिन मियाँले पार्टीले निर्वाचनका लागि अपनाएको नीति र कार्यशैलीप्रति असहमति जनाएका छन्। उनले संगठनमा सक्रिय व्यक्तिहरूको उचित मूल्यांकन नभएको र आन्तरिक प्रक्रियाप्रति असन्तुष्टि रहेको उल्लेख गरेका छन्।
जिल्ला संगठन विभाग प्रमुख पवन चौधरीले पनि पार्टीभित्रको प्रक्रियाप्रति असहमति जनाउँदै जिल्ला सभापति चन्दन स्वर्णकारसमक्ष राजीनामा पेश गरेको बताएका छन्। चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट उम्मेदवार बनेका थिए। उनले ३ हजार ८८४ मत प्राप्त गरेका थिए। यसपटक पनि उनी उम्मेदवारका आकांक्षी रहेको जिल्ला सभापति स्वर्णकारले जानकारी दिएका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशका २५ उम्मेदवारमध्ये चौधरीले सर्वाधिक मत प्राप्त गरेका थिए। यसअघि बारा–२ मा उम्मेदवारको दावेदार रहेकी मधेश प्रदेशकी संस्थापक ममता शर्माले पनि पार्टी परित्याग गरेकी थिइन्।
रास्वपाबाट बारा–४ मा रहबर अन्सारी, बारा–३ मा अरविन्द सिंह, बारा–२ मा चन्दन सिंह र बारा–१ मा गणेश धिमाल उम्मेदवार छन्। जिल्ला सभापति चन्दन स्वर्णकारले जिल्ला संगठन प्रमुख तथा पालिका सभापतिहरूको राजीनामाले निर्वाचनमा असर पर्न सक्ने भन्दै पार्टी केन्द्रीय नेतृत्वले विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । यसअघि बारा क्षेत्र नम्बर–३ का उपसभापति रोशन अधिकारी, क्षेत्र नम्बर–४ का उपसभापति दिलीप पण्डित, परवानीपुर गाउँपालिका सभापति मनोज साह र गढीमाई नगरपालिकाका सचिव प्रदीप गुप्ताले पनि पार्टी छाडेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij