Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

राप्रपाको नजरमा यस्ता छन् समृद्धिका ६ आधार स्तम्भ

राप्रपाको नजरमा यस्ता छन् समृद्धिका ६ आधार स्तम्भ

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनावी 'संकल्प पत्र' मार्फत नेपालको आर्थिक रूपान्तरण र समृद्धिका लागि ६ वटा प्रमुख आधार स्तम्भहरूलाई अघि सारेको छ।

 पार्टीले 'पृथ्वी पथ' को मार्गचित्र अन्तर्गत मुलुकलाई सबल र समुन्नत बनाउन ६ वटा प्रमुख आधार स्तम्भहरूलाई समृद्धिको मेरुदण्डको रूपमा परिभाषित गरिएको अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार आयोजित कार्यक्रममा जानकारी दिए ।

राप्रपाले समृद्धिको पहिलो र मुख्य आधारको रूपमा जलस्रोत तथा विद्युत क्षेत्रलाई राखेको छ। पार्टीले आगामी १० वर्षलाई 'ऊर्जा उत्पादन दशक' घोषणा गर्दै सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। यस योजना अन्तर्गत नेपाललाई शतप्रतिशत हरित ऊर्जा प्रयोग गर्ने मुलुक बनाउने मात्र नभई भारत, बंगलादेश र चीनसम्म विद्युत व्यापार विस्तार गरी ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्ने सोच राखिएको छ। गरिबीको रेखामुनि रहेका परिवारलाई निःशुल्क विद्युत उपलब्ध गराउने र खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतको आन्तरिक खपत बढाउने राप्रपाको प्राथमिकता छ। दोस्रो स्तम्भको रूपमा पर्यटन क्षेत्रलाई समेटिएको छ । जसमा नेपाललाई योग, ध्यान र आयुर्वेदको अन्तर्राष्ट्रिय केन्द्र (आरोय पर्यटन) को रूपमा विकास गर्ने संकल्प गरिएको छ। 

धार्मिक, साहसिक र प्राकृतिक पर्यटनको प्रवर्द्धन गर्दै पार्टीले हवाई सुरक्षामा व्यापक सुधार गरी नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियनको कालो सूचीबाट हटाउने प्रतिबद्धता व्यक्त गरेको छ। तेस्रो स्तम्भमा कृषिलाई राखिएको छ । जसमा पार्टीले मुलुकलाई खाद्यान्न, तरकारी र फलफूलमा आत्मनिर्भर बनाउन रासायनिक मल कारखानाको स्थापना र कृषि बीमाको सुनिश्चितता गर्ने एजेन्डा अघि सारेको छ। कृषकका लागि प्रत्यक्ष अनुदान र बजारको ग्यारेन्टी गर्दै कृषि पेशालाई मर्यादित बनाउने राप्रपाको दाबी छ।

समृद्धिको चौथो आधार स्तम्भ सूचना प्रविधि र सुशासनलाई मानिएको छ। राप्रपाले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा घोषणा गर्दै 'ब्रेन ड्रेन' लाई 'ब्रेन गेन' मा बदल्ने नीति लिएको छ। विद्यालय तहदेखि नै आर्टिफिसियल इन्टेलिजेन्स र कोडिङ समावेश गर्ने तथा 'अर्न ह्वाइल यू लर्न' मोडलबाट विद्यार्थीलाई स्वरोजगार बनाउने योजना पार्टीको छ। 

पाँचौँ स्तम्भका रूपमा विदेशमा रहेका नेपालीहरूको सीप र पुँजीको परिचालनलाई लिइएको छ। 'एक पटकको नेपाली सधैँको नेपाली' भन्ने मान्यतालाई स्थापित गर्दै गैर-आवासीय नेपालीहरूको ज्ञान र लगानीलाई राष्ट्र निर्माणमा जोड्न नागरिकताको निरन्तरता र मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता संकल्प पत्रमा छ।

अन्तिम तथा छैटौँ स्तम्भको रूपमा निजी क्षेत्रको सशक्तिकरणलाई जोड दिइएको छ। राप्रपाले 'आर्थिक सुधार ३.०' को अवधारणा ल्याउँदै निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य संवाहकको रूपमा स्वीकार गरेको छ। उद्योग व्यवसायमा हुने राजनीतिक हस्तक्षेप र ट्रेड युनियनको सिन्डिकेट अन्त्य गर्ने, 'वान विन्डो सिस्टम' मार्फत सेवा प्रवाह गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई विशेष सहुलियत दिने नीति पार्टीले लिएको छ। यी ६ वटा आधार स्तम्भहरूको एकीकृत कार्यान्वयनबाटै नेपालको अर्थतन्त्रमा आमूल परिवर्तन सम्भव हुने लिङ्देनको भनाइ छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट