Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कसैले नयाँ नयाँ पार्टीमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो : गगन थापा

कसैले नयाँ नयाँ पार्टीमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो : गगन थापा

सर्लाही : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा भोट दिन्छु भनेमा त्यो कांग्रेस रहेको बताएका छन् । सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

उनले भने, ‘यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो । किनकि कांग्रेस विरासतलाई बोकर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ ।’ उनले अबको देश युवाहरूको काँधमा रहेको र युवाहरूलाई देखेपछि खुसी लागेको बताए । उनले युवाहरूले नै यो देश हाँक्ने भएकाले सक्रिय सहभागिता हुनुपर्ने बताए । उनले भने, ‘सधैँ अरूले भन्ने गर्थे खै युवाहरू कहाँ छन् । तर आज यहाँ धनकौलमा युवाहरू खासगरी जेनजी पुस्ता देखेपछि धेरै खुसी भएको छु । उहाँहरूको विचार र क्षमताको म कदर गर्न चाहन्छु ।’

थापाले अहिले मधेसको जग बलियो बनाउन शिक्षा जरुरी रहेको तर त्यसअघि भोटमार्फत युवाहरूले जिताउनुपर्ने बताए । उनले भने, ‘अहिले सर्लाही लगायतका मधेसका जिल्लामा शिक्षा, स्वास्थ्य र सिचाइँ मुख्य समस्या हो । यहाँको जग नै बलियो बनाउनु छ । त्यसका लागि युवाहरूले एक जना बराबर पाँच जना परिवारलाई बुझाउनुपर्ने स्थिति छ कांग्रेसको बारेमा । तपाईं युवाहरूले यस बारेमा जिम्मा लिइदिनुपर्छ। मैले मेरो टिमसँग पनि यही भनेको छु ।’

उनले अब कांग्रेसले घोषणा पत्रमा पनि सर्लाहीको मागबारे ल्याउने तयारी भइरहेको बताए । उनले भने, ‘त्यसमा सर्लाहीका समस्या कांग्रेसको संकल्पपत्रमा रहोस् भनेर म आज काठमाडौँ जाँदैछु । म फेरि आउनेछु ।’ उनले कांग्रेस पार्टीसँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले सर्लाही मात्रै होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गरे ।  ‘देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ । प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ । त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ’, सभापति थापाले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट