चितवन : रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको समस्या बढी देखिने गरेको पाइएको छ । एचआईभी संक्रमितहरूको उपचार गर्दै आएको भरतपुर अस्पताल र नारायणी अस्पताल वीरगञ्जको एआरटी सेन्टरले गरेको अध्ययनमा यस्तो भेटिएको हो ।
दुई अस्पतालमा एक हजार ६३७ जनाको परीक्षणका क्रममा १०२ जनामा यौन रोग देखिएको भरतपुर अस्पताल, एआरटी सेन्टर प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए। उनका अनुसार यौन रोग सङ्क्रमितमध्ये ३२ जना रोजगारीका लागि विदेश गएर फर्किएका रहेका छन् । यस्तै, यौन व्यवसायमा लागेका छ जना, उनीहरू साथी २२ जना, तेस्रो लिङ्गी ११ जना र अन्य ३१ जना रहेका छन् ।
सेन्टर प्रमुख सापकोटाले यौन रोगमा सबैभन्दा धेरै ८८ जनामा भिरिङ्गीको संक्रमण देखिएको बताए । अन्य यौन रोगमा भेरिना, पाठेघरको संक्रमण एवं ढुसीजन्य संक्रमण देखिएको पाइएको उनले जानकारी दिए । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलले असुरक्षित यौन सम्पर्कका कारण यौन रोगको संक्रमण बढेको पाइएकाले सतर्कता अपनाउन आग्रह गरे । उनले सुरक्षित यौन सम्पर्क गर्न र समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij