Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चुनाव शासन प्रणाली बदल्ने अवसर पनि हो : उपेन्द्र यादव

चुनाव शासन प्रणाली बदल्ने अवसर पनि हो : उपेन्द्र यादव

सप्तरी : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न निर्वाचनलाई केवल सरकार फेरबदलको प्रक्रिया मात्र नभई शासन प्रणालीको चरित्र नै परिवर्तन गर्ने ऐतिहासिक अवसरको रूपमा चित्रण गरेका छन् । सप्तरी क्षेत्र नम्बर ३ मा बुधबार आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष यादवले युवा पुस्ताको चेतना, प्रश्न गर्ने साहस र जबाफदेही शासनको मागलाई सम्बोधन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् । 

उनले जसपा नेपालले युवाहरूको यो आकांक्षालाई नारामा मात्र सीमित नराखी नीतिगत सुधारमार्फत कार्यान्वयन गर्ने दाबी गरे। आजको युवा पुस्ता पारदर्शी निर्णय प्रक्रिया र राजनीतिक हस्तक्षेपमुक्त सरकारी निकायको पक्षमा रहेको उल्लेख गर्दै यादवले सुशासन बिना विकास र भ्रष्टाचार नियन्त्रण बिना लोकतन्त्र बलियो हुन नसक्ने धारणा राखे ।  युवाहरूले बेरोजगारी र अवसरको अभाव भोग्नुपरेको प्रति चिन्ता व्यक्त गर्दै उनले अनियमितता र बेथिति विरुद्ध कठोर एजेन्डासहित जसपा नेपाल मैदानमा उत्रिएको बताए । अब चुप लागेर बस्ने नभई परिवर्तनको नेतृत्व गर्ने समय आएको भन्दै उनले स्वच्छ र पारदर्शी शासनका लागि मतदातासँग साथ मागे।

जसपा नेपालले आफ्नो चुनावी घोषणापत्रमार्फत विगतदेखि वर्तमानसम्मका सबै भ्रष्टाचार काण्डको निष्पक्ष र स्वतन्त्र छानबिन गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए। छानबिनका क्रममा दोषी पाइएमा पूर्व वा वर्तमान पदाधिकारी, राजनीतिक नेता, कर्मचारी वा व्यवसायी जोसुकै भए पनि कानुन अनुसार कारबाही हुने उनले उद्घोष गरे। पद, पहुँच र राजनीतिक संरक्षणका आधारमा अब कसैले पनि उन्मुक्ति नपाउने उनको तर्क थियो। अध्यक्ष यादवले अख्तियार, अदालत र अनुसन्धान गर्ने निकायहरूलाई पूर्ण रूपमा स्वायत्त र सशक्त बनाउनु पर्नेमा जोड दिए । उनले सार्वजनिक सूचनामा पहुँचको अधिकारलाई प्रभावकारी बनाउँदै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट