Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

दार्चुला पुगे बालेन, हेर्नेको घुइँचो

दार्चुला पुगे बालेन, हेर्नेको घुइँचो

दार्चुला : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)चुनावी कार्यक्रमका लागि दार्चुला पुगेका छन्।

सुदूरपश्चिम केन्द्रित पार्टीको चुनावी कार्यक्रमअन्तर्गतको भ्रमणका क्रममा उनी बुधबार अपराह्न दार्चुलाको गोकुलेश्वर पुगेका हुन्।





गोकुलेश्वरमा साहले पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै आगामी निर्वाचनका तयारीबारे छलफल गरेका छन्। सो अवसरमा उनले दार्चुलाबाट पार्टीका उम्मेदवार राजेशसिंह सामन्तसँग चुनावी रणनीति र संगठनात्मक विषयमा संवाद गरेको जनाइएको छ।

साहको आगमनका बेला गोकुलेश्वर क्षेत्रमा सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिएको थियो। वरपरका गाउँबस्तीबाट आएका नागरिकहरू उनलाई हेर्न र भेट्न गोकुलेश्वर पुगेका थिए।

त्यसअघि बैतडीको मुख्य केन्द्र पाटनसहितका विभिन्न स्थानमा कार्यकर्ता भेटघाटको कार्यक्रममा पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरूसँग भेटघाट गरेका थिए ।

झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका रास्वपाका वरिष्ठ नेता साह तीन दिनअघि काठमाडौंबाट पश्चिम तराईतर्फ प्रस्थान गरेका थिए। बर्दियामा विभिन्न भेटघाट सकेपछि उनी सुदूरपश्चिम प्रदेशतर्फ लागेका थिए।

मंगलबार कैलाली र कञ्चनपुरमा आयोजित चुनावी कार्यक्रमहरूमा सहभागी भएका साह बुधबार बिहान कैलालीबाट डडेल्धुरा र बैतडी हुँदै दार्चुला पुगेका हुन्। यसपछि साँझ ८ बजे उनको कार्यक्रम बझाङको बुङ्गलमा सम्पन्न हुने बताइएको छ।

रास्वपाले यी कार्यक्रमलाई ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ नाम दिएको छ, जसअन्तर्गत पार्टीको सन्देश स्थानीय तहसम्म पुर्‍याउने र मतदातासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्य लिइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट