Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

हेटौंडामा जलपन्छी गणना, राप्ती खोलामा भेटिए एक दर्जन तिलहरी चरा

हेटौंडामा जलपन्छी गणना, राप्ती खोलामा भेटिए एक दर्जन तिलहरी चरा

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको कुखुरेनी र राप्ती खोला क्षेत्रमा एक दर्जन तिलहरी चरा फेला परेका छन्। शनिबारदेखि हेटौंडाको कुखुरेनी र राप्ती खोलाको दोभानबाट जलपन्छी गणना सुरु गरिएको हो। कुखुरेनी र राप्ती खोलामा गणना गर्ने क्रममा १२ वटा तिलहरी चरा फेला पारेको वर्ल्ड कन्जरर्भेसन नेपाल हेटौंडा शाखाका कोर्डिनेटर विवेक मेहताले बताए।

राप्ती खोलामा तिलहरी चराको साथै पानीमा पौडिरहेको ‘कमन मर्गेनजर’ चरा पनि फेला परेको कोर्डिनेटर मेहताले बताए। दोलखा र रसुवाको हिमाली भेगबाट जाडो छल्न तिलहरी चरायता आएको गणकहरुले बताए । यही चरा हेर्नका लागि विदेशीहरु पनि हेटौंडा आउने गरेको मेहताले बताए।

यतिबेला हिउँदमा बसाइँ सरेर आउने पानीमा आश्रित चरा गणना भइरहेको छ। चरा गणनामा खटिएको टोलीले शनिबार राप्ती खोलाको सामरी दोभानसम्म पुगेर गणना गरेको छ भने आइतबार हेटौंडा उपमहानगरपालिका—५ स्थित माछापालन क्षेत्रमा गणना गर्ने जनाएको छ । अन्तिम दिन सोमबार कर्रा खोला वरिपरि रहेका जलपन्छी गणना गर्ने कोर्डिनेटर महताले बताए ।

तिलहरी चराले बगेको सफा पानी भएको खोलाखोल्साका ढुंगा र ग्राभेलको तल बस्ने साना किरा र त्यसका लार्भा खाने गर्छ । यो चरा भेटिनु भनेको खोलाको पानी प्रदुषित छैन भन्ने बुझिने मेहताले बताए।

मसिनो लामो चुच्चो हुने यो चराको मोटो घााटीमा माला लगाए जस्तो कालो धर्सो हुन्छ । हिमताल र हिमनदीनजिक गुँड लगाएर बच्चा कोरल्ने यो चरा चिसो बढेपछि आहारा खोज्दै तल झर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट