चितवन : भरतपुर महानगरपालिकाको आपटारीमा आधुनिक फोहोरमैला प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढेको छ। ९.९ हेक्टर क्षेत्रफलमा निर्माण गर्ने योजनाअन्तर्गत बुधबार भूमिपूजनसहित रुख कटान कार्यको शुभारम्भ गरिएको हो।
प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक प्रारम्भिक प्रक्रिया अघि बढेसँगै आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। केन्द्र निर्माण भएपछि भरतपुर महानगरपालिकाबाट संकलन हुने फोहोरमैला व्यवस्थापन थप व्यवस्थित, वैज्ञानिक र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
आधुनिक प्रविधिमा आधारित प्रशोधन केन्द्र सञ्चालनमा आएपछि फोहोरको उचित व्यवस्थापन, प्रशोधन तथा वातावरणीय स्वच्छता कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।