गोरखा : धार्मिक तथा ऐतिहासिक महत्त्वको स्थल मनकामनामा करिब १ अर्ब रुपैयाँको लगानीमा आधुनिक सुविधा सम्पन्न मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा सञ्चालनमा आउने भएको छ। आगामी असोजको पहिलो हप्तादेखि सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष विजय मल्लले जानकारी दिएका छन्।
https://youtu.be/5hyscvQP9MM
रिसोर्टको सम्पूर्ण व्यवस्थापन सोल्टी वेस्टर्न रिसोर्ट मनकामनाले गर्नेछ, जसले यसअघि पनि गोरखा, चितवनसहितका स्थानहरूमा होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइसकेको छ।
१०० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टको मूल संरचना सकिएको छ भने भित्री सजावट तथा इन्टेरियरको काम भारतीय कम्पनी आर्कोभले गरिरहेको छ। रिसोर्टमा ५१ वटा कोठा, ६ भिल्ला र एउटा टावर बिल्डिङ रहनेछन्, जसमा करिब ११० पाहुनाले एकैपटक बस्न सक्नेछन्। कोठाहरू क्विन, किङ र प्रेसिडेन्सियल सूइट श्रेणीमा रहनेछन्।
रिसोर्टमा स्पा, फिटनेस क्लब, स्वीमिङ पूल, ३०० क्षमताको इन्टेरियर बैंक्वेट हल, ५०० जनासम्म बस्न मिल्ने आउटडोर बैंक्वेट स्पेस, र ५६ जनाको क्षमता भएको रेस्टुरेन्ट जस्ता सुविधा रहनेछन्। यी सुविधा आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई लक्षित गरेर तयार पारिएको बताइएको छ।
अध्यक्ष मल्लका अनुसार रिसोर्ट सञ्चालनमा आएपछि करिब ६०–६५ जनाले रोजगारी पाउनेछन्, जसमा स्थानीयलाई प्राथमिकता दिइनेछ। आफ्नै पैतृक जग्गा र जन्मस्थलमा केही योगदान पुर्याउने उद्देश्यले रिसोर्ट निर्माण गरेको उनले बताए। “मनकामना धार्मिक पर्यटकको केन्द्र भए पनि स्तरीय र सुविधा सम्पन्न रिसोर्टको अभाव थियो। भक्तजन वा पर्यटकले केही बढी खर्च गर्न चाहेर पनि उपयुक्त सुविधा पाउँदैनथे,” उनले भने, “त्यसलाई ध्यानमा राखेर यो रिसोर्ट निर्माण गरिएको हो।”
यस रिसोर्टमा स्थानीय मौलिकता र संस्कृतिलाई पनि उच्च प्राथमिकता दिइनेछ। पाहुनालाई स्थानीय उत्पादनको स्वाद चखाइनेछ र गुरुङ तथा मगर समुदायको कला–संस्कृति नजिकबाट देखाइनेछ। साथै, शहीद लखन थापाको नाममा रहेको ऐतिहासिक गुफा, मनोरम त्रिशूली नदी, हिमाल दृश्य, छिम्केश्वरी डाँडा र प्रसिद्ध सुन्तलाको बगानसमेत आकर्षणका रूपमा प्रस्तुत गरिनेछ।
मल्लले मनकामनालाई नगरकोट र धुलिखेलको विकल्पका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। राजधानी काठमाडौं, पोखरा र चितवनको बीच भागमा पर्ने भएकाले यहाँ आएका पर्यटकले २–३ दिनसम्म बस्न सक्ने गरी सुविधा उपलब्ध गराइएको छ। उनले भने, “यहाँको ताजा हावा, चिसो पानी र प्राकृतिक वातावरणले पर्यटकलाई फरक अनुभव दिलाउनेछ।”
विभिन्न कारणले निर्माण ढिलो भए पनि करिब चार वर्षपछि अब रिसोर्ट सञ्चालनमा आउन लागेको हो। यसले मनकामना क्षेत्रको पर्यटन र आतिथ्य क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij