हेटौंडा : बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले तालिमबाट प्राप्त सीपलाई व्यावसायिक रूपमा उपयोग गरी आयआर्जनको माध्यम बनाउन सके समतामूलक तथा सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ।आज हेटौंडामा सफल हेल्थकेयर एकेडेमीले आयोजना गरेको तीनमहिने केयर गिभर तालिमको दीक्षान्त समारोहमा ९० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै मन्त्री तामाङले यस्तो बताउनुभएको हो।
उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई प्रमाणपत्रमा मात्र सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। सीपलाई रोजगारी, स्वरोजगार र उद्यमशीलतासँग जोड्न सके व्यक्ति आत्मनिर्भर बन्नुका साथै समाजको आर्थिक तथा सामाजिक विकासमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रममा नेसनल कलेजका निर्देशक डा. रामचन्द्र अधिकारी, सफल हेल्थ केयर प्रालिका चितवन संस्थापक सुशील भट्टराई, मकवानपुर खेलकुद विकास समितिका पूर्वअध्यक्ष सानु लामा लगायतले मन्तव्य राख्नुभएको थियो। दीक्षित प्रशिक्षार्थीका तर्फबाट समेत तालिमको अनुभव र यसको उपयोगिताबारे धारणा राखिएको मन्त्रीका मुख्य राजनीतिक सल्लाहकार राजु भण्डारीले बताए।
सफल हेल्थ केयर मकवानपुरका संस्थापक सरोज केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तीन महिनासम्म केयर गिभरसम्बन्धी प्रशिक्षण लिएका ९० जना प्रशिक्षार्थी दीक्षित भएका हुन्।केयर गिभर क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालित तालिमले प्रशिक्षार्थीलाई रोजगारी तथा स्वरोजगारका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।