Logo

Nov 28 2026 | २०८३, मंसिर १३गते

देउवा समूहको महाधिवेशन : महामन्त्रीका आकांक्षी खुल्दै

देउवा समूहको महाधिवेशन : महामन्त्रीका आकांक्षी खुल्दै

काठमाडौं : कांग्रेसको देउवा समूहको १५ औं महाधिवेशन नजिकिँदै गर्दा महामन्त्रीका आकांक्षीहरू पनि देखिन थालेका छन् । २१ मंसिरदेखि सुरु हुने महाधिवेशनमा पूर्व केन्द्रीय सदस्य र केन्द्रीय कार्यसमितिभन्दा बाहिर रहेकासम्मले महामन्त्री पदमा दाबी प्रस्तुत गरिरहेका छन् ।

देउवा समूहले जिल्ला र प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिरहेका बेला नेताहरू महामन्त्रीमा उम्मेदवारी दिने आन्तरिक तयारीमा जुटेका छन् । महामन्त्रीका आकांक्षीमध्येका केहीले सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् भने केहीले आफूनिकटलाई सम्भावित उम्मेदवारीबारे जानकारी गराइसकेका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखकले १५ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने चाहना राखेका छन् । उनले आसन्न महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिनेबारे निकटस्थहरूलाई बताइसकेका छन् । स्रोतका अनुसार नेता लेखकले उम्मेदवारीका विषयमा नेता एनपी साउद र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरसँग छलफल गरिसकेका छन् ।

‘रमेश दाइले हामीसँग महामन्त्रीमा उम्मेदवारी दिने भन्नुभएको छ,’ उनीनिकट एक महाधिवेशन प्रतिनिधिले भने, ‘यसबारेमा एनपी दाइ र वीरबहादुर दाइसँग पनि कुरा गर्नुभएको छ ।’
ती महाधिवेशन प्रतिनिधिका अनुसार छलफलमा नेताद्वय साउद र बलायरले महामन्त्रीमा उम्मेदवारी नदिने बताएपछि लेखक महामन्त्रीमा उम्मेदवार बन्न तयार भएका हुन् ।

गृहमन्त्री हुँदा सचिवालयमा काम गरिसकेका स्रोतअनुसार नेता लेखकले महामन्त्रीका लागि आन्तरिक तयारीमा जुट्न भनिसकेका छन् । १४औं महाधिवेशनमा क्रियाशील सदस्यता छानबिन समिति संयोजक रहेका लेखक गत भदौमा सम्पन्न देउवा समूहको राष्ट्रिय भेलामा विधान समिति संयोजक थिए । देउवा समूहका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पनि महामन्त्रीमा आकांक्षा राखेका छन् । निकटस्थ स्रोतले पूर्वकेन्द्रीय सदस्य बस्नेतले महामन्त्रीमा उम्मेदवारी दिने आन्तरिक तयारी गरेको जानकारी दिएको छ ।

बागमती प्रदेशका पूर्वमन्त्री कुन्दनराज काफ्ले पनि महामन्त्रीका आकांक्षी छन् । उनी १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । विभिन्न जिल्ला र प्रदेश अधिवेशनहरूमा सहभागी हुँदै आएका काफ्ले महामन्त्रीका लागि मत माग्दै आएका छन् ।

उनले प्रदेश अधिवेशन सम्पन्न भइसकेपछि औपचारिक रुपमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्ने प्रतिक्रिया दिए । ‘प्रदेश अधिवेशन सकिएपछि घोषणा गर्छु,’ काफ्लेले अनलाइनखबरसँग भने, ‘अहिले त महामन्त्री भन्दै हिँडेको छु । साथीहरू के मा उठ्ने भन्नुहुन्छ, महामन्त्रीमा भोट हाल्नुहोला भनिरहेको छु ।’ यस्तै १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता गुरु बरालले पनि आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् । उनले अनलाइनखबरसँग भने, ‘महामन्त्री पदको उम्मेदवार हो ।’

राष्ट्रियसभा सदस्य जीतजंग बस्नेत पनि देउवा समूहका महामन्त्रीका आकांक्षी हुन् । जिल्ला अधिवेशनका लागि रौतहट पुगेको बस्नेतले आफू महामन्त्रीको उम्मेदवार भएको बताए । ‘म अहिले रौतहतको अधिवेशनमा छु । महामन्त्रीमा उम्मेदवारी दिन्छु,’ उनले अनलाइनखबरसँग भने, ‘म त साथीहरूसँग महामन्त्रीका लागि मत माग्दै हिँडेको छु ।’ नेता बस्नेत नेपाल तरुण दलको अध्यक्ष रहँदा १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

पूर्वकेन्द्रीय सदस्य किरणराज शर्मा पौडेल पनि महामन्त्रीको आकाक्षां राख्ने नेताको सूचीमा पर्दछन् । देउवा समूहका नेताहरूले उनी पनि आफूलाई महामन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्दै आएका छन् । यस्तै युवा नेता भुपेन्द्रजंग शाही पनि महामन्त्रीको तयारीमा लागेका छन् । उनी सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेर विभिन्न जिल्लाहरूमा पुगिरहेका छन् ।

नेता शाही १४औं महाधिवेशनमा कर्णाली प्रदेश सभापतिका प्रत्याशी थिए । तत्कालीन समयमा उनी डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका थिए । नेपाल तरुण दलका पूर्वमहामन्त्री शाहीलाई कांग्रेसले दोस्रो संविधानसभा र प्रतिनिधिसभा निर्वाचन २०७४ मा कालिकोटमा उम्मेदवार बनाएको थियो ।

१४औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित नेता उमाकान्त चौधरी पनि सम्भावित महामन्त्रीका उम्मेदवार हुन् । यद्यपि, उनले उम्मेदवारीको विषयमा मुख खोलेका छैनन् ।

प्रदेश अधिवेशनहरू सम्पन्न हुन बाँकी रहेका कारण उम्मेदवारीको विषयमा नेताहरू मुखरित भइनसकेको देउवा समूहकानेताहरूको भनाइ छ । प्रदेश अधिवेशन सम्पन्न भइसकेपछि पदाधिकारीका आकांक्षीहरू खुल्ने नेताहरू बताउँछन् । देउवा समूहले विधान संशोधन गरेर पदाधिकारीहरूको संख्या बढाउने तयारी गरेको छ । स्रोतका अनुसार उक्त समूहले उपसभापति र महामन्त्रीमा दुई–दुई जना बढाउने तयारी गरेको छ ।

‘विधान संशोधनको काम भइरहेको छ । पदाधिकारीको संख्या बढ्न सक्छ,’ विधान मस्यौदा समिति सदस्य रंगमती शाहीले भनिन् ।

एक महिलासहित चार उपसभापति र एक महिलासमित चार महामन्त्री रहने व्यवस्था विधानमा गर्ने सम्भावना रहेको देउवा समूहका नेताहरू बताउँछन् । यो समूहले नेता शिव हुमागाईंको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ ।

देउवा समूहले वडा, पालिका, क्षेत्र, जिल्ला हुँदै प्रदेश अधिवेशन गरिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशमा उक्त समूहको अधिवेशन सम्पन्न भइसकेको छ । गण्डकीको अधिवेशनबाट प्रदेश सभापतिमा मेखलाल श्रेष्ठ र लुम्बिनी अधिवेशनबाट रोज राणा निर्वाचित भएका महाधिवेशन तयारी समितिअन्तर्गतको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले बताए ।

उनका अनुसार १३ मंसिरमा कर्णाली, १४ मंसिरमा मधेश, १५ मंसिरमा सुदूरपश्चिम, १७ मंसिरमा कोशी र १८ मंसिरमा बागमती प्रदेश अधिवेशन हुने भएको छ । देउवा समूहले २१–२३ मंसिरमा काठमाडौंको खुलामञ्चमा महाधिवेशन गर्ने निर्णय यसअघि नै गरेको थियो । महाधिवेशनबाट नेतृत्व चयनका लागि विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय भएको नेता कुइँकेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट