इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि दुईदिने मेला लाग्ने भएको छ। आज मंसिर १२ र भोलि १३ गते मेला लाग्न लागेको हो।
आज साँझदेखि रातभर मेला लाग्ने र भोलि बिहान विशेष पूजाआजा गरिने कार्यक्रम रहेको छ। मेलाको अवसरमा पर्यटन प्रवर्द्धनका लागि विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिनुभयो। उहाँका अनुसार मेलामा राष्ट्रिय तथा स्थानीय विभिन्न विधाका कलाकारहरूको प्रस्तुति रहनेछ।
इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजासँगै बलि चढाउने परम्परा छ। इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रूपमा मनाउन सो दिन सार्वजनिक बिदासमेत दिँदै आएको छ।
गोरखाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरतर्फ पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने तथा सन्तान नभएकाहरूलाई सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ। मनकामना देवीका सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्तीसमेत प्रचलित छ।
इच्छाकामना मन्दिर धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल हो। समुद्री सतहदेखि करिब एक हजार ८०० मिटरको उचाइमा रहेको मन्दिर वरपर घना जंगलले ढाकेको छ। फागुन र चैतमा ढकमक्क फुल्ने लालिगुराँसले यहाँको वातावरणलाई थप रमणीय बनाउँछ। इच्छाकामनाबाट मौसम सफा भएका बेला हिमाली शृङ्खला मनास्लु, गणेश र माछापुच्छ्रेसम्म देख्न सकिन्छ।
मन्दिर पुनर्निर्माणसँगै खानेपानी, विद्युत् सेवा र अन्य भौतिक पूर्वाधार निर्माण भएपछि यहाँ धार्मिक पर्यटकको आगमन बढेको छ। यहाँ भारतीय पर्यटकसमेत मन्दिर दर्शनका लागि आउने गरेका छन्। फिस्लिङ–शक्तिखोर सडक र मुग्लिन–तामिन सडक प्रयोग गरेर पर्यटक मन्दिर पुग्ने गरेका छन्। सार्वजनिक बिदा र शनिबारका दिन मन्दिर दर्शन गर्न तथा वनभोज खान आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij