Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

सरकारलाई नेकपाले भन्यो- वैकल्पिक व्यवस्थाबिना सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट ननिकाल्नू

सरकारलाई नेकपाले भन्यो- वैकल्पिक व्यवस्थाबिना सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट ननिकाल्नू

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीले उचित पुनर्वासको व्यवस्थाबिना सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न उर्दी गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै सरकारको यो व्यवहार अमानवीय, असंवेदनशील, गरिबविरोधी तथा सामाजिक न्यायको सिद्धान्त विपरीतको कदम भएको बताएका छन्।विज्ञप्तिमा भनिएको छ, ‘२०८३ वैशाख १२ गतेदेखि हजारौँ नागरिकलाई घरबारविहीन बनाएको सरकारले १५ दिनभित्र उनीहरूको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको भए तापनि सात महिना बितिसक्दा समेत उक्त प्रतिबद्धता पूरा गरेको छैन। अझै पनि बोडे, खरिपाटी र इचंगुनारायणस्थित होल्डिङ सेन्टरहरूमा १२२ परिवार अत्यन्त कष्टकर अवस्थामा जीवन बिताउन बाध्य छन्।’

बढ्दो शीतलहर र कठ्याङ्ग्रिँदो जाडोमा बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक, बिरामी तथा अपाङ्गता भएका व्यक्तिहरूसहितका विस्थापित परिवारलाई वैकल्पिक आवासको सुनिश्चितताबिना होल्डिङ सेन्टरबाट समेत निष्कासन गर्न खोज्नु सरकारको चरम संवेदनहीनता र श्रमजीवी वर्गप्रतिको अन्यायपूर्ण व्यवहारको दृष्टान्त भएको उल्लेख छ।नेपालको संविधानले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक, खाद्यसम्बन्धी हक, सामाजिक न्यायको हक तथा भूमिहीन दलितलाई जमिन र आवासविहीन दलितलाई आवासको हक सुनिश्चित गरेको उल्लेख छ।

सहरको सुन्दरताका नाममा गरिब जनतालाई कुरूप ठान्ने र विकासका नाममा श्रमजीवी जनतालाई विस्थापित गर्ने सोच र व्यवहार सर्वथा गलत भएको नेकपाको ठहर छ।नेकपाले होल्डिङ सेन्टर खाली गर्ने सरकारको निर्णय तथा सूचना अविलम्ब फिर्ता लिन, कुनै पनि परिवारलाई जबर्जस्ती निष्कासन नगर्न, प्रत्येक विस्थापित परिवारको वास्तविक अवस्थाको निष्पक्ष स्थलगत छानबिन गर्न, भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जमिनसहित सुरक्षित आवास उपलब्ध गराउन र अव्यवस्थित बसोबासहरूको उचित व्यवस्थापन गर्न नेपाल सरकारसमक्ष माग गरेको छ।

नेकपाले भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासी तथा सम्पूर्ण श्रमजीवी जनसमुदायको न्यायपूर्ण माग र अधिकार प्राप्तिको सङ्घर्षप्रति ऐक्यबद्धता जनाएको छ। भूमिहीन तथा आवासविहीन नागरिकको संवैधानिक अधिकारको रक्षा र सामाजिक न्यायको सुनिश्चितताका लागि सबै राजनीतिक दल, किसान तथा सुकुम्वासी सङ्गठन, मानव अधिकारवादी सङ्घसंस्था, नागरिक समाजलाई आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट